नुवाकोट। कोरोनाको बढी संकमक मानिएको ‘डेल्टा प्लस’ भेरियन्ट नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरिएका एक जनामा भेटिएको छ । अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका चार वटा नमुनामध्ये एउटा नमुनामा ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको अस्पताले जनाएको छ ।
त्रिशुली अस्पतालले उक्त चार वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । सो क्रममा तीन वटामा डेल्टा र एक वटामा डेल्टा प्लस भेरियन्ट देखिएको हो । डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने भएकोले जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गर्न सम्पूर्णलाई विज्ञप्तिमा मार्फत अनुरोध गरिएकोछ।
