काठमाडौं । सशस्त्र प्रहरी बलले डीएसपीबाट एसपी बढुवा प्रक्रिया सुरु गरेको छ । सशस्त्रमा १५ एसपी पद रिक्त छ । अहिलेका बरिष्ठ एसपीलाई कामु एसएसपी बनाएमा थप १० एसपी खाली हुनेछ । १० जना एसपी कामु एसएसपी भएमा २५ एसपी पद खाली हुनेछ । एसपीलाई कामु एसएसपी नदिएमा १५ एसपीमा बढुवा हुनेछ ।
सशस्त्र प्रहरी बलले बढुवाका लागि आवश्यक योग्यता लगायत कार्यसम्पादन मूल्यांकनका कागजात पाँच दिनभित्र बढुवा समितिको कार्यालयमा पेश गर्न बुधबार सूचना निकालेको छ ।
नेपाल प्रहरीमा सईबाट आएकाहरु सशस्त्र प्रहरी बलमा डीआइजी भइसकेका छन् भने असईबाट प्रवेश गरेका एसपी हुने भएका छन् । तर सशस्त्रमा योग्यता र क्षमता प्रदर्शन गरी प्रतिस्पर्धाबाट छानिएकाहरु १८ बर्षसम्म पनि इन्स्पेक्टर र डीएसपी नै छन् । उनीहरुको बढुवा गर्नतिर सशस्त्रको नेतृत्वको पटक्कै ध्यान पुग्न सकेको छैन । संगठनको नेतृत्वले प्रतिस्पर्धाबाट आएकाहरुलाई बढुवा गर्दै सशस्त्रलाई गतिशील संगठन बनाउनुपर्नेमा अक्षम र प्रतिस्पर्धा नै नगरी आएका असई र सईहरुलाई एसपी र डीआइजी बढुवा गर्दैआएको छ । यसले योग्यहरुले अन्याय महसुस गर्दैआएका छन् । उनीहरुको मनोबल गिराउने काम गरेको छ ।
सशस्त्र प्रहरी बलमा एसपी बढुवा गर्दा संगठनले नै प्रतिस्पर्धाका आधारमा भर्ना गरेकाहरुलाई प्राथमिकता दिनुपर्ने पक्षमा लबिङ भइरहेको छ । तर नेपाल प्रहरीका असई–सईबाट सशस्त्रमा आएकाहरुलाई बरिष्ठताका नाममा बढुवा गर्ने खेल भइरहेको छ । सशस्त्र प्रहरी गठन भएपछि अधिकृतमा भर्ना भएकाहरु यो पटकको बढुवामा पनि नपर्ने संभावना देखिएको छ । प्रहरीको असई सईबाट आएकाहरु आर्थिक चलखेल गरी सशस्त्रमा भर्ना भएका काबिल डीएसपीलाई बढुवा हुन नदिन शक्तिकेन्द्र धाइरहेका छन् ।
बुधबार मात्रै प्रहरीबाट आएकाहरुको टोली गृहमन्त्री बिष्णुप्रसाद पौडेललाई भेट्न मन्त्रालय पुगेको थियो । तर पौडेल पार्टी एकता कार्यदलको बैठकका कारण ब्यस्त भएकाले उनीहरुले नभेटी फर्किएका थिए । यी प्रहरीबाट आएको अक्षमहरुको टोलीले गृहमन्त्री पौडेलका स्वकीय सचिव याम पाण्डेदेखि उनका आफन्तसम्मलाई आर्थिक प्रलोभनसम्म दिएर भए पनि सशस्त्र प्रहरीको फ्रेस जनशक्तिलाई बढुवा हुन नदिन लागेको छ ।
संगठनमै भर्ना भएका काबिल अधिकृतहरु १८ बर्षदेखि डीएसपीमै कार्यरत छन् । तर प्रहरीको असईबाट आएका एसपी र सईबाट आएका डीआइजी भइसकेका छन् । सशस्त्रले आफैंले उत्पादन गरेको जनशक्तिको वृत्तिविकास नै अवरुद्ध हुँदा पनि संगठनका प्रम्ख शैलेन्द्र खनालले कुनै चासो नदिएको गुनासो अधिकृतहरुको छ । सशस्त्रमा १८ बर्षअघि भर्ना भएका केही अधिकृत अझै डीएसपीमै छन् । यस्तो बिडम्बना सशस्त्रमा भएकाले बढुवामा असई सईबाट आएकाहरुलाई भन्दा सशस्त्रको फ्रेस जनशक्तिलाई संगठनले प्राथमिकता दिनुपर्ने माग हुँदैआएको छ ।