काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले गतबर्ष मलको ठेक्का पाएर पनि समयमा आपूर्ति नगर्ने शैलुङ इन्टरप्राइजेजसहित १५ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीमा निर्माण ब्यवसायीका अलावा आपूर्तिकर्ता पनि छन् ।
कालोसूचीमा राखिएको शैलुङ इन्टरप्राइजेज नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको हो । उनले गतबर्ष मल आयात गर्ने ठेक्का पाएर पनि ल्याउन नसकेपछि तत्कालीन कृषि मन्त्री घनश्याम भूसालले कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका थिए । अधिकारीले ठेक्का पाएर पनि समयमा मल आपूर्ति नगर्दा गतबर्ष किसानले समयमा मल पाउन सकेनन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । बाँकी १२ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएपछि त्यस अवधिभर यी कम्पनीले कुनै पनि बोलपत्रमा भाग लिन पाउँदैनन् ।
शारदा अधिकारीको शैलुङ कन्ष्ट्रक्सनले धेरै ठाउँका सडकको ठेक्का लिएर समयमा सम्पन्न नगरेकोमा पोल पोलमा तस्वीर राखेर बिरोध भएको थियो ।
कानोसूचीमा राखिएका कम्पनीहरु
