काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।
नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भने, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लंघन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’
शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताए । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोच्चको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’
प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,’ शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लंघन गरी योजनावद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’
०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्तेलेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।
सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै विगतमा पनि त्यस्ता सामग्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’
उनले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए । ‘नीति सबैका लागि बराबर हुन्छ,’ शाक्यले भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ । त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’
‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’
मेयर शाक्यले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पारेका छन् । ‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान हुँदैन । उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ,’ उनले भने ‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।’
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र बाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको छ ।
उनले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराए । ‘स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सरकारी र सामुदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौँ,’ उनले भने, ‘काठमाडौँ महानगर क्षेत्र भन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने कार्य गरेको छ । त्यसैले हामीले कसरी उहाँहरुको सम्मानमा आघात पुग्ने काम गर्यौं ?’ ’
शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री वीर अस्पताल, कान्ति बाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराएका छन् । ‘त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिएका छौँ । छाउनी अस्पतालमा काठमाडौँ महानगरपालिकाकै सहयोगमा निशुल्क डाइलोसिसको व्यवस्था गरेका छौँ । काठमाडौंको ‘कोर–सिटी’ मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कामपाको सहयोगमा ३५ शैयाको विशेष कोभिड अस्पताल सञ्चालनमा छ । महानगरपालिकाकै सहयोगमा बसुन्धरामा निशुल्क कोभिड आइसोलेशन वार्ड सञ्चालन गरेका छौँ,’ उनले भने, ‘यी चाहिँ चिकित्सकको मनोवल उच्च बनाउन गरेका कार्य होइनन् ?’
‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’
चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकूल नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, भनी मेयर शाक्यले भने, ‘उनीहरुले नीति बाहिर जानुहुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ नि ? हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाडौँ महानगरपालिकाकाको कानुन र नीति विपरीत जानुहुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’
मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिको पहिलो नगरसभाले नै सर्वसम्मत रुपमा काठमाडौँ महानगरपालिकाको नारा ‘साँस्कृतिक शहर काठमाडौँ महानगर’ तय गरेको पनि स्मरण गराएका छन् । ‘उक्त नाराले पनि काठमाडौँ सहरलाई साँस्कृति शहरका रुपमा विकास गर्नुपर्ने हुन्छ,’ शाक्यले भने, ‘आफूखुशी जे–पायो त्यही गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ ।’
उनले आफू मेयर निर्वाचित भएपछि संघीय र प्रदेशसभाको निर्वाचनमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको स्मरण गराए । ‘संघीय र प्रदेशसभाको निर्वाचन हुँदा म काठमाडौँ महानगरपालिकाको मेयर थिएँ,’ उनले भने, ‘सहरका कुनै पनि भित्तामा मेयरको उम्मेदवार हुँदा र पछिका निर्वाचनमा समेत त्यस्तो कार्य गर्न निधेष थियो । त्यो बेला पनि त सुन्दर नारा लेख्न सकिन्थ्यो होला । त्यो निधेष गरिएको भएर नै नदिएको हो, नगरेको हो । आगामी निर्वाचनमा पनि ती कार्य निधेष नै गरिन्छ ।’
मेरो कार्यकर्ता हो, मेरो मान्छे हो, त्यसैले पाउनुपर्छ भन्ने ढंगले अघि बढ्ने हो भने समस्या हुने पनि उनले बताऐ । ‘विज्ञप्ति जारी गर्ने साथीहरुलाई अनुरोध गर्न चाहन्छु । कम्तीमा पनि सर्वोच्चको आदेशलाई पालना गर्नुहोस् । हामी छौँ भनेर उचाल्ने परम्पराले थप समस्या सिर्जना हुन्छ । विज्ञप्ति नै निकालेर हामी छौँ भन्दै उचाल्नेहरुहरुलाई मेरो अनुरोध छ,’ उनले भने, ‘नीति, आदेश केही नमान्ने हो भने कहाँ–कहाँ, कस–कसलाई के–के लेख्न दिने हो ? तपाईँहरु भन्नुहोस् । तर, आदेश, कानुन र नीतिको पालना त गर्नुपर्ला नि ?’
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend