काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको हाताभित्र निर्माण भएको अडिटोरियम हलमा जडान भएको एयरकन्डिसन र साउण्ड सिस्टम १ वर्ष नपुग्दै बिग्रिएको छ । सञ्चालनमा आएको एक वर्ष नपुग्दै हलमा जडान भएको एसी र साउण्ड सिस्टम बिग्रिएको विषयले प्रहरी हेडक्वार्टरमा हल्लीखल्ली मच्चिएको छ । एक बर्ष नपुग्दै बिग्रिएपछि एसी र साउण्ड सिस्टम सप्लायर्सलाई भुक्तानी दिने फाइल आईजीपी शैलेश थापासमक्ष पेश गर्न समेत प्रशासन विभागका एआईजी निरजबहादुर शाहीसहितको टिमले सकेको छैन । एसी र साउण्ड सिस्टम आपूर्तिकर्ता ठेकेदार भुक्तानीका लागि दैनिकजसो प्रहरी हेडक्वार्टर धाइरहेका छन् तर उनले भुक्तानी पाउन सकेका छैनन् ।
जडान भएको एक बर्ष नपुग्दै बिग्रिएकाले फाइल आईजीपीसमक्ष पेश गर्नका लागि एआइजी शाही समेत हच्किएका छन् । टेण्डरमा गुणस्तरीय ब्रान्डको एसी मागिए पनि प्राविधिक निर्देशनालयका डीआईजी लोकश सिंह र एसपी रामकुमार चौधरीसहितको टोलीलाई सेटिङ गरी गुणस्तरहीन कम्पनीको राखिएको स्रोतको दाबी छ । त्यही भएर जडान भएको एक वर्ष नपुग्दै एक करोड लगानी गरिएको एसी बिग्रिएको छ । अडिटोरियम हलमा एसी र साउण्ड सिस्टम अनिवार्य चाहिन्छ । साउण्ड सिस्टमले पनि काम नगरेको समाचार स्रोतले बताएको छ ।
प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले साउण्ड सिस्टमले काम नगरेको स्वीकार गरे । ‘साउण्ड सिस्टमले काम गरेन । स्पेसिफिकेशन अनुसार नै जडान गरिएको हो । स्पिकरमात्रै राखिएकाले अपग्रेड गर्नुपर्ने छ । एसी चाहिं चलिरहेको छ । हलमा एलईडी राख्न बाँकी छ’ कुँवरले भने ।
नेपाल प्रहरी प्रधान कार्यालयभित्रैको अडिटोरियम हल निर्माणमा त यो ढंगको लापरबाही छ भने प्राविधिक निर्देशनालयले ७० स्थानमा निर्माण भइरहेका संरचना कस्तो बनाइरहेको होला भन्ने प्रश्न उठेको छ ।
प्राविधिक निर्देशनालयका डीआईजी लोकेश सिंहले अडिटोरियम हलमा मार्बल र सिमेन्टलगायतका सामानसमेत आफूले भनेकै कम्पनी वा पसलबाट खरिद गर्न दबाब दिने गरेको खुलेको स्रोतले बतायो । बढी कमिसन पाउने भएकाले उनीहरुले ठेकेदारलाई इटालियन मार्बल नै लगाउनुपर्ने प्रावधान राखेको खुलेको छ । निर्देशनालयका हाकिमहरुले सिमेन्ट पनि जसले बढी कमिसन दिन्छ, त्यही कम्पनीको प्रयोग गर्न दबाब दिने गरेका छन् ।
प्रहरीका ७० ठाउँमा निर्मित पूर्वाधारका लागि ठूलो मात्रामा निर्माण सामग्री आवश्यक हुने भएकाले डीआईजी सिंह र चौधरीले आफूले भनेकै ठाउँबाट किन्न दबाब दिने गरेका छन् । काठमाडांैमा ओम हस्पिटलसँगैको हार्डवेयर पसलबाट निर्माण सामग्री किन्न ठेकेदारहरुका लागि बाध्यात्मक बनाइएको छ । ठेकेदारहरुबाट निश्चित प्रतिशत कमिशन (पीसी) खाएर मात्र नपुगी डीआईजी सिंहले निर्माण सामग्रीमा समेत लोभ गरेको स्रोत बताउँछ ।
अडिटोरियम हल ३५ प्रतिशत निर्माण नहुँदै तत्कालीन आईजीपी सर्वेन्द्र खनालले २०७६ माघ २८ गते उद्घाटन गरेका थिए । शिलालेखमा नाम लेखाउनकै लागि उनले ३५ प्रतिशत निर्माण नहुँदै उद्घाटन गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कुँवरले अझै निर्माण नसकिएको प्रतिक्रिया दिएका छन् । यसले पनि खनालले शिलालेखमा नाम राख्नका लागि मात्र हतार हतार उद्घाटन गरेको पुष्टि हुन्छ । खनालपछिका ५ महिने आईजीपी ठाकुरप्रसाद ज्ञवालीले उक्त हल प्रयोग नै गर्न नपाई अवकाश भए । शैलेश थापा क्षेत्री आएको करिब १ वर्ष पुग्दा पनि उक्त हलको पूर्णतया निर्माण सम्पन्न भएको छैन । निर्माण पूरा नहुँदै हलमा जडान भएका एसी र साउण्ड सिस्टम बिग्रिसकेका छन् । साँघु साप्ताहिकबाट