Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोपको प्राथमिकतामा छैनन् शिक्षक


    शुक्रबार, असार १८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् ।

    अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्री समेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ ।

    नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन । १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।

    अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले ? भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड १९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन ।

    नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले खोप लगाउन सरकारले शिक्षकलाई प्राथमिकतामा नराखेको बताए । उनले भने, हामी विद्यार्थीसँग प्रत्यक्ष जोडिने व्यक्ति हौं । सरकारलाई पटकपटक खोप दिलाउन लिखित र मौखिक आग्रह गरे पनि सरकार गम्भीर देखिँदैन ।’

    सरकारले खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने भन्दै यो अवस्थामा वैकल्पिक विधिबाट मात्रै पठनपाठन गराइने बताए । राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार