Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यालय संचालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई, बढी विद्यार्थी भए आलोपालो गर्न निर्देशन


    शुक्रबार, बैशाख ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र  साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ । 

     शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए । उनले भने–प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार रहेको छ ।

     उनले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डिसिसिएमले गर्नसक्ने बताए । मन्त्रालयले  हालैका दिनमा कोभिड–१९ को संक्रमण पुनः वढ्दो अवस्थामा रहेको र त्यसवाट विशेषतः विद्यालय जाने उमेर समूहका विद्यार्थीहरूमा संक्रमण फैलिन सक्ने भनी व्यक्त भएका चिन्ता र चासो प्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै वक्तब्य जारी गरेको छ ।

      मन्त्रालयले चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावसमेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनुपर्ने समेत उल्लेख छ ।  स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गरी थप सजगता अपनाउनु सबैको कर्तव्य रहेकोले नेपाल सरकारवाट थप निर्णय वा निर्देशन नभएसम्म मन्त्रालयले जनस्वास्थ्य सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट तय गरिएका थप मापदण्डको पनि पालन गर्न गराउन तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, सावुनपानीले हात धुने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन आग्रह गरेको छ ।

     मन्त्रालयले ३ बुँदे निर्देशन जारी गरी भीडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न,  विद्यालय वन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र वन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रकृयाहरूको पालना गर्नुका साथै विद्यालयहरू वन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिन आग्रह गरेको छ ।

      बैठकमा बोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए । उनले स्वाथ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।

     बैठकमा विज्ञान सचिव डा सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । उनले पछिल्लो अवस्थामा कोभिड–१९ले वालवालिका र १८ वर्ष मुनिका युवालाई संक्रमण देखिएको बताउँदै सबै क्षेत्रमा गम्भीर हुनुपर्ने कुरामा जोड दिएका छन् । बैठकमा शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्याल, मन्त्रालयका सहसचिव डा. हरि लम्साल, सहसचिव इमनारायण श्रेष्ठ, डा. तुल्सी थपलियाले विद्यालय बन्द र सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिन सुझाएका थिए ।

     बैठक लगत्तै प्रवक्ता दीपक शर्माद्धारा जारी विज्ञप्तिमा मन्त्रालयले कोभिड–१९को अवस्थामा विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहपाई दिएको छ । बिहीबार स्वाथ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्ला र केही शहरका विद्यालय बन्द गर्न आब्हान गरेपछि शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार