एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा ३-१ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा निकालेको ३-१ गोलको जितको कारण रियल सेमिफाइनलमा पुग्न सफल भएको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको दोस्रो लेगमा दुबै टोलिले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो।
यससँगै रियल भने ३० औं पटक च्याम्पियन्स लिग र युरोपियन कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
अब रियलले सेमिफाइनलमा अर्को इंग्लिस क्लब चेल्सीसँग खेल्नेछ ।
यस्तै, गएराती सम्पन्न अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ गोलले पराजित गर्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।
फाइनल प्रवेशका लागि अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सित भिड्ने छ ।