एजेन्सी। भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् ।
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन् ।
कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन् ।
समूहका अध्यक्ष अरोराले भनेका छन्, ‘कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन ।’
उनले सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राखे ।
सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यावहारिक नहुने उनले बताए ।
भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको सङ्ख्या तीव्ररुपमा बढ्दै गइरहेको छ ।