गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन शुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उहाँको भनाइ छ ।
अभियान शुरु गरेको पहिलो दिनमा रु चार लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
विद्यार्थी सङ्ख्याअनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको भन्दै विद्यालयले निजी स्रोतमा भने पनि शिक्षक राख्ने तयारी गरेको उहाँले बताउनुभयो ।