काठमाडौं ।अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाबाट बच्न प्रयोग भइरहेको जोनसन एण्ड जोनसनको भ्याक्सिनमाथि रोक लगाउने सिफारिस गरेका छन् ।
यो भ्याक्सिनको प्रयोगपछि रगत जम्ने समस्या देखिएका कारण अधिकारीले यस्तो माग गरेको बताएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का अनुसार सावधानीलाई ध्यानमा राख्दै यो निर्णय लिइएको छ ।
एएफडीका अनुसार भ्याक्सिनको ६८ लाखभन्दा बढी डोजमा रगत जम्ने ६ दुर्लभ घटना देखिएको छ । संस्थाले एस्ट्राजेनेका भ्याक्सिनको उपयोगबाट रगत किन जम्छ भन्नेबारे अनुसन्धान गरेपछि यसको प्रयोगमा अंकुश लगाएको छ ।
ट्वीटरमा गरिएको आफ्नो थुप्रै ट्वीटमा एफडीले आफूले र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले रगत जमेको ६ घटनाको समीक्षा गर्दै भ्याक्सिन लगाएपछि देखिएको यो समस्या अत्यन्त दुर्लभ भएको बताएको छ ।
एफडीएले भन्यो, ‘सतर्कतालाई ध्यानमा राख्दै हामी यो भ्याक्सिनको उपयोगलाई रोक्न सल्लाह दिइरहेका छौं । यो निर्णयको उद्देश्य स्वास्थ्यको हेरविचार गर्नेहरुलाई यस्तो प्रतिकूल घटनाको घातक असरबारे जानकारी दिनु हो ।’
एफडीए र सीडीसीको एक संयुक्त बयानमा रगत जम्ने घटना वास्तवमा सेरिब्रल वेनस साइनस थ्रोम्बोसिस (सीवीएसटी) हो । यस्ता मामिलालाई सामान्यभन्दा भिन्न उपचारको आवश्यकता पर्ने यसमा बताइएको छ ।
बयानका अनुसार यस्तो मामिलामा सामान्यताः रगत जम्न नदिने औषधी ‘हेपरिन’ को सेवन गर्नु खतरनाक हुनसक्छ । त्यसैले यसको वैकल्पिक उपचारको आवश्यकता छ ।
रगत जमेका सबै ६ बिरामी १८ देखि ४८ वर्षका महिला हुन् जसमा यस्तो समस्या भ्याक्सिन लगाएको ६ देखि १३ दिनपछि देखिएको थियो । न्यूयोर्क टाइम्सले अधिकारीलाई उद्धृत गर्दे नेब्रास्कामा यसका कारण एक महिलाको मृत्यु भएको र अर्की एक महिलाको स्थिति गम्भीर भएको जानकारी दिएको छ ।