Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पब्जी र फ्रिफायर खेल्न झुम्मिने विद्यार्थी अहिले मोबाइलमा पढ्ने सामग्री खोज्छन्


    मंगलबार, चैत्र ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । ‘कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ। हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्’, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्छन्, ‘कक्षा कोठामा पुगेर अध्यापनमा सहभागी कमै शिक्षकले पूर्वतयारी गर्छन्।’ 

    कोरोना महामारीपछि शिक्षण सिकाइका विधि र शिक्षकको तयारीमा परिवर्तन आएको छ। 

    अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयहरूले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली फेरिएको थापा बताउँछन्।

    ‘अनलाइन कक्षाले शिक्षकहरूलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा पढ्ने सामग्री खोज्न थालेका छन्’, प्रअ थापाले भने, ‘शिक्षकहरू जिम्मेवार र विद्यार्थी केन्द्रित हुने वातावरण बन्यो।’ 

    कोरोना समयमा प्रयोग भएको विधिलाई अहिले पनि विद्यालयले पछ्याइरहेको छ। रेश नुन्थला माविका सबै शिक्षक अहिले इन्टरनेटको प्रयोग गरेर आफू अद्यावधि रहने र विद्यार्थीलाई समेत सिकाउने गरेको थापाले बताए। 

    विद्यालयमा इन्टरनेटको पहुँच र विद्यार्थीसँग समेत इन्टरनेटको पहुँच हुँदा पठनपाठन प्रक्रिया सहज हुने गरेको अनुभव शिक्षण विष्णु गौतमसँग पनि छ। 

    गौतम अहिले विद्यालयमा सबभन्दा धेरै इन्टरनेटको प्रयोग गर्न सिपालु शिक्षकमा गनिन्छन्। 

    विद्यालयमा ४५२ विद्यार्थी छन्। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिसँग जोडिन आग्रह गर्दा ७० प्रतिशत विद्यार्थीले सिकाइमा सहभागी भइरहेको अनुमान विद्यालयको छ। 

    ‘अनलाइन कक्षा भनेको कक्षाकोठाजस्तो रहेन, त्रुटि हुँदाको घडीमा रेकर्ड रहने भएकाले शिक्षक जिम्मेवार बन्नैपर्‍यो’, थापा भन्छन्, ‘पाठ्यक्रममा तलमाथि पर्दा विद्यार्थी, शिक्षक र विद्यालय प्रशासन सबैलाई तत्कालै जानकारी हुन्छ।’

    विद्यार्थीले अनलाइनमार्फत् शिक्षकले सिकाइका विषयवस्तु रेकर्ड गरेर राख्न सक्ने र दोहोर्‍याएर पढ्न सक्ने भएकाले यो विधि प्रभावकारी देखिएको थापाको दाबी छ। ‘तत्कालका लागि अनलाइन कक्षा सबै विद्यार्थीको पहुँचमा हुँदैन कि भन्ने थियो’, वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘चाहेदेखि हुँदोरहेछ, अभिभावक जिम्मेवार हुँदा सबै विद्यार्थीलाई पढाउन सकियो।’ 

    विद्यालय बन्द रहेको समयमा समेत पाठ्यक्रममा आधारित पठनपाठन निरन्तर चलेकाले अहिले पाठ्यक्रम सक्न र दोहोर्‍याउन सजिलो रहेको शिक्षकहरू बताउँछन्। विद्यालयले ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। 

    केही शिक्षकले ल्यापटप पाएका छन् भने केहीले पाउने क्रममा रहेको वडाध्यक्ष लामिछानेले बताए। कक्षा कोठामा समेत प्रोजेक्टरको माध्यमबाट अध्यापन हुने भएकाले पनि शिक्षण सामग्री तयार गर्नुपर्ने बाध्यतामा शिक्षकहरू छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार