Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया


    मंगलबार, चैत्र ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • उच्च अदालतले मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल रानालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतको आदेशबाट चैत २७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका रानालाई उच्चले पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।  

    एउटाको जग्गा अर्कैको नाममा नामसारी गर्ने कार्यमा कम्प्युटर अपरेटर राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीको संलग्नता देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतले १४ जनालाई धरौटीमा छोडेको थियो । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको इजलासले किर्ते तथा ठगीजन्य कार्य गरेको भनी वादी पक्षले स्पष्ट दाबी लिन नसकेको एवम् जाहेरी दर्खास्त र बुझिएका मानिसहरुले प्रतिवादीउपर किटानी गरी लेखाउन नसकेकाले केवल पदीइ हैसियतको आधारमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश नमिलेको उल्लेख छ ।

    उच्चको फैसलामा कम्प्युटर अपरेटर रानालाई पाँच लाख नगद धरौटी वा बैंक ग्यारेन्टी लिएर तारेखमा राख्न भनिएको छ । ‘प्रतिवादीले के कसरी किर्ते तथा ठगीजन्य कार्य गरेको भनी वादी पक्षले स्पष्ट दावी लिन नसकेको र जाहेरी दर्खास्त एवम् बुझिएका मानिसहरुले प्रतिवादी उपर किटान गरी लेखाउन नसकेको तथा प्रतिवादी कसुरमा इन्कार रहेका र सहअभियुक्तले पोल गर्न नसकेको अवस्थामा केवल पदीय हैसियतको आधारमा समान अवस्थाका अन्य प्रतिवादीहरु भन्दा बेग्लै थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी जिल्ला अदालतबाट भएको आदेश सो हदसम्म मिलेको नदेखिँदा बदर हुन्छ,’ न्यायाधीशद्वयको फैसलामा भनिएको छ, ‘मुद्दाको प्रकृति तथा प्रतिवादीको संलग्नतासमेतका आधारबाट प्रतिवादीबाट पाँच लाख नगद वा बैंक ग्यारेन्टी माग गरेर तारेखमा राख्नु र दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला ।’ उच्चको आदेशसँगै राना पाँच लाख धरौटी राखेर शुक्रबार थुनामुक्त भएका छन् ।  

    जिल्ला अदालतले मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठलाई जनही पाँच–पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही दुई–दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्रीलाई दुई–दुई लाख धरौटीमा छोड्न आदेश दिइएको थियो ।

    यस्तै मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी खत्री, सुब्बा कमला सापकोटा, कृष्ण थापा र तिर्थ महतारा एक–एक लाख, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य र खरदार दीपेन्द्र पुलामी तीन–तीन लाख र लेखनदास अम्मरसिंह कटुवाल चार लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।  

    तत्कालिन मालपोत कार्यालय सुर्खेतका प्रमुख खत्री हाल मालपोत कार्यालय काठमाडौंको कलंकी, सापकोटा मालपोत कार्यालय हुम्ला र थापा सुर्खेतको चिंगाड गाउँपालिकामा कार्यरत छन् ।  

    वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको थियो । पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालिन प्रमुख खत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दर्ता गरेको थियो ।नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार