काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् ।
एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणको कारण एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ६३ हजार २९४ महाराष्ट्रमा फेला परेका हुन् ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ ।