Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • घुससहित पक्राउ परेका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    बुधबार, असोज २१ २०८३
    190
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले बुधबार साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

    आयोगका अनुसार बर्दिबास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने काममा सेवाग्राहीलाई आलटाल तथा दुःख हैरानी दिएर घुस मागेको उजुरी परेको थियो।

    उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    आयोगले अनुसन्धानका क्रममा साहले अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने काममा आलटाल गरेको र सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको दाबी गरेको छ।

    सोही आधारमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको हो।

    आयोगले एक लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा सोही दफाअनुसार बिगो बराबर जरिवाना गर्न माग गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार