Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • चोलेन्द्र पक्राउ प्रति बारको आपत्ति- न्यायालयलाई दबाबमा पार्ने कार्यको डटेर सामना गर्छौ 


    सोमबार, असोज १२ २०८३
    135
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएकोप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारणबिना कोही पनि नागरिकलाई नियन्त्रणमा लिने र छाड्ने कार्य संविधान, कानुनको शासन तथा लोकतान्त्रिक शासन प्रणालीविपरीत भएकामा जोड दिएको हो ।

    राणालाई सुरक्षा चुनौती रहेको भन्दै आइतबार (असोज ११) प्रहरीले पक्राउ गरेको थियो । करिब ११ घण्टापछि आइतबारै दिउँसो प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो ।

    राणासँग राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई भेटघाट गर्न नदिइएको विषयमा समेत बारले आपत्ति जनाएको छ । बारले कुनै पनि प्रकारको स्वेच्छाचारी शासनको पक्षमा रहन नसक्ने स्पष्ट पारेको छ ।

    “न्यायपालिका स्वच्छ र भ्रष्टाचार मुक्त हुनुपर्छ । सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट यसको स्वच्छता र स्वतन्त्रताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेपको यस एसोसिएसन प्रतिवाद गर्दछ,” बार महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    आधार, कारण र प्रमाणबिना कोही पनि नागरिकलाई अनाहकमा पक्राउ गर्नेलगायत कार्य नगर्न बारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । न्यायालयलाई दबाब, अभाव र प्रभावमा पारेर आफ्नो अनुकूल चलाउन खोज्ने कार्यको डटेर सामना गर्ने पनि नेपाल बारले जनाएको छ ।

    बारले सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा कसैले विचाराधीन मुद्दामामिलामा कुनै प्रकारको हस्तक्षेप, चासो, सरोकार वा छलफल हुन नसक्ने आचारसंहिताको व्यवस्थातर्फ पनि ध्यानाकर्षण गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार