Nepal Face
  • शनिबार, १० असोज २०८३
  • एसपीलाई धम्क्याएको घटना: भन्सार अधिकृत भट्ट काठमाडौं तानिए 


    शनिबार, असोज १० २०८३
    195
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ।

    सशस्त्र प्रहरी बल, नेपाल ३४ नं. गण कैलालीका एसपी खुमबहादुर केसीलाई धम्क्याएको भनिएको अडिओ सार्वजनिक भएपछि भन्सार विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको हो। सार्वजनिक भएको भिडिओमाथि थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको छ।

    केही दिनअघि सशस्त्र प्रहरीका एसपी केसी र भन्सार अधिकृत भट्टबीच भएको भनिएको संवादको अडिओ सार्वजनिक भएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको अडिओमा भट्टले केसीलाई गड्डाचौकीबाट भन्सार पास भइसकेको गाडी कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै प्रश्न गरेको सुनिन्छ।

    भट्टले उक्त गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन निर्देशन दिएको पनि अडियोमा सुनिन्छ। गाडी नछाडिए गृहमन्त्री, आईजीपी र भन्सार प्रमुखलाई फोन गरिदिने चेतावनीसमेत भट्टले संवादका क्रममा एसपी केसीलाई दिएको सुनिन्छ।

    भन्सार अधिकृत भट्टले सशस्त्र प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाएका छन्। भन्सारबाट पास भइसकेको सामान नियन्त्रणमा लिएर बहादुरी नदेखाउनसमेत उनले सुरक्षा निकायलाई चेतावनी दिएको अडिओमा सुनिन्छ।

    यस विषयमा सार्वजनिक भएका विवरणमाथि थप अनुसन्धान तथा बुझाइका लागि भट्टलाई विभागमा झिकाइएको भन्सार विभागले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार