Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • पुल बगेपछि ड्रोनबाट नुवाकोटमा हैजाविरुद्धको खोप त्रिशुलीपारी पठाइयो


    बुधबार, भाद्र २४ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्‍याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ ।

    २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोपलाई सुरक्षित राख्न त्रिशुलीवारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको कोल्ड चेन स्टोरमा राखिएको हो ।

    पुल बगेका कारण त्रिशुलीपारी रहेका स्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थामा स्थलमार्गबाट तत्काल खोप लैजान सम्भव नभएपछि खोपलाई सुरक्षित रूपमा त्रिशुलीपारी पुर्‍याउन वैकल्पिक ढुवानी माध्यमका रूपमा ड्रोन प्रयोग गरिएको हो ।

    स्वास्थ्य सेवा विभाग, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको समन्वयमा ड्रोनमार्फत खोप त्रिशुलीपारी पुर्‍याइएको हो ।

    बाढीलगत्तै प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री तथा खोपको आपूर्ति सहज बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र प्रधानमन्त्री बालेन्द्र शाहको पहल तथा समन्वयमा मन्त्रिपरिषबाट ड्रोन उडानका लागि अनुमति प्राप्त भएपछि यो कार्य सम्भव भएको हो ।

    अब त्रिशुलीपारी पुगेको खोपलाई कोल्ड बक्स तथा भ्याक्सिन क्यारियरमा राखेर सम्बन्धित स्वास्थ्य संस्था हुँदै गाउँ–गाउँसम्म पुर्‍याउने योजना जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटले बनाएको छ । खोपको प्रभावकारिता कायम राख्न आवश्यक तापक्रम व्यवस्थापन गर्दै लक्षित समुदायसम्म खोप पुर्‍याइनेछ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयले खोप अभियानका लागि आवश्यक जनशक्ति, खोप केन्द्र तथा अन्य व्यवस्थापनको तयारी गरिरहेको छ । त्यसपछि स्वास्थ्यकर्मी परिचालन गरी लक्षित समुदायलाई हैजाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिनेछ ।

    बाढीका कारण पुल तथा सडकको आवागमन प्रभावित भए पनि खोपको कोल्ड चेन नटुटोस् र स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल वैकल्पिक ढुवानी व्यवस्था गरिएको हो। अब जिल्ला जनस्वास्थ्य कार्यालयको प्राथमिकता त्रिशुलीपारी पुगेको खोपलाई सुरक्षित तापक्रममा राख्दै गाउँ–गाउँसम्म पुर्‍याएर हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्नु रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार