Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्तमान समयमा सरकारलाई जवाफदेही र जनतालाई सचेत बनाउन जिम्मेवार पत्रकारिता आवश्यक


    आइतबार, जेष्ठ १७ २०८३
    450
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । लोकतन्त्रलाई सुदृढ बनाउन जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी पत्रकारिता अपरिहार्य रहेको नागरिक समाजका प्रतिनिधिहरुले बताउनु भएको छ ।

    सम्पादक समाज नेपालद्वारा आज काठमाडौं आयोजित ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले सुशासन, पारदर्शिता र समाज रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका सधैँ निर्णायक रहनेमा जोड दिनुभएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्थानीय सरकारका नीति, कार्यक्रम र सेवा प्रवाहलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयोे । “सूचनाको सम्प्रेषणका विभिन्न माध्यम भए पनि सञ्चार क्षेत्रको भूमिका अग्रस्थानमा छ”, उहाँले भन्नुभयो, “सरकारलाई जवाफदेही र जनतालाई सचेत बनाउने सशक्त माध्यम नै सञ्चार क्षेत्र नै हो ।”

    प्रवक्ता मानन्धरले यथार्थ समाचार संप्रेषण गर्ने संचार माध्यामलाई आवश्यक सहयोग गर्न काठमाडौं महानगर पालिका प्रतिबद्धता रहेको बताउनुभयो ।
    कार्यक्रममा नेपाल बार एशोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष अधिवक्ता सुवोध वाबु चिलुवाल, ई. उमेश गुप्ता र नेपाल रेडक्रस सोसाइटीका काठमाडौंका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै व्यावसायिक आचरण, सत्यपन र सन्तुलित प्रस्तुतिकरणमार्फत जनविश्वास कायम राख्नुपर्ने धारणा राख्नु भयो ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तोया गौतम

    संचार माध्याममा समाचर आउनुपूर्व नै सामाजिक संजालले दिने घटना विवरणले आमनागरिक यथार्थ समाचार प्राप्त गर्नबाट वन्चित भएको उहाँहरुले बताउनुभयो ।
    पछिल्लो समयमा केही गलत समाचारका कारण देशमा नराम्रा घटनाहरु पनि भएकाले यसतर्फ ध्यान दिनलाई सामाजिक व्यक्तित्वहरुले आग्रह गर्नु भयो ।

    नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शोभा अर्यालले गुणस्तरीय पत्रकारिताका लागि संचारगृहहरु सक्षम हुनुपर्नेमा वर्तमान सरकारले सरकारी विज्ञापन प्रकाशनमा लिएको नीतिका कारण धराशायी बन्न पुगेको उल्लेख गर्नुभयो ।

    अध्यक्ष अर्यालले अध्ययनले मात्र दक्ष पत्रकार बन्न नसक्ने भएकाले कार्यस्थलमा खटिने पत्रकारहरुलाई प्रशिक्षित गर्न सकेमा समाचारको स्तर एवं सत्यतामा वृद्धि हुने बताउनु भयो ।

    समाजका महासचिव श्यामकाजी डोटेलले वर्तमान परिवेशमा सञ्चार क्षेत्रका लागि प्रविधि र बदलिँदो प्रवृत्ति मुख्य चुनौतीका रूपमा देखापरेको औँल्याउनुभयो । डिजिटल माध्यमको तीव्र विस्तारसँगै पत्रकारहरूले नयाँ प्रविधिलाई आत्मसात् गर्दै आफ्नो दक्षता, क्षमता र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले स्मरण गराउनुभयो । तर, सञ्चार क्षेत्रको गरिमा कमजोर बनाउने गैरव्यावसायिक र अव्यवस्थित मानवीय प्रवृत्तिलाई समयमै सुधार गर्न आवश्यक रहेको उहाँले स्पष्ट गर्नुभयो । पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र पेसागत मर्यादा सुदृढ रहने उहाँको भनाइ छ ।

    सम्पादक समाजका अध्यक्ष पुरु रिसालले पत्रकारिता स्वभावतः जिम्मेवार र संवेदनशील पेसा भएकाले यसलाई अझ सजग, सचेत र व्यावसायिक अनुशासनका साथ निरन्तरता दिनुपर्ने बताउनुभयो । सत्यतथ्यमा आधारित, सन्तुलित र उत्तरदायी सामग्री प्रस्तुतिकरणमार्फत् नै पत्रकारिताको विश्वसनीयता जोगाउन सकिने उहाँले बताउनुभयो ।

    काठमाडौं महानगरपालिका वडा नं. १७ को सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रशिक्षक तोया गौतमले प्रस्तुतिकरणमार्फत् डिजिटल प्रभाव, सामाजिक सञ्जालको तीव्र विस्तार तथा अनलाइन सञ्चारमाध्यमको बढ्दो बाहुल्यताका विषयका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यपत्र प्रस्तुत गर्दै उहाँले डिजिटल युगमा सूचना प्रवाहको गति तीव्र बनेसँगै तथ्य परीक्षण, स्रोतको विश्वसनीयता र सामग्रीको गुणस्तर झनै महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । अनलाइन पत्रकारिताको प्रतिस्पर्धी परिवेशमा व्यावसायिकता, जिम्मेवारी र विश्वसनीयतालाई सन्तुलित राख्नु नै मुख्य चुनौती रहेको उहाँको प्रस्तुतिकरणमा औँल्याइएको थियो ।

    यसक्रममा समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले सामाजिक सञ्जालका कारण मूलधारका सञ्चारमाध्यम समस्यामा पर्दै गएको टिप्पणी गर्नुभयो । गोरखापत्र दैनिकका सम्पादकसमेत रहनुभएको उहाँले नागरिकको अपेक्षालाई समाचारमा प्रमुख प्राथमिकता दिन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    सम्पादक समाज नेपालले अभियानका रुपमा आयोजना गरेका ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’ विषयक यो दोस्रो कार्यक्रम हो । यसअघि गत फागुनमा नुवाकोटका संचारकर्मीहरुलाई समेटेर विदुरमा अन्तरक्रिया आयोजना गरेको थियो । समाजले पहिलो चरणमा वागमतीका सबै जिल्लामा यो ‘नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता’अन्तरक्रिया कार्यक्रम गर्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार