काठमाडौं । नेपालमा अनलाइनका माध्यमबाट खेलिने अबैध जुवा (बेटिङ) मा दैनिक ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएकै दिन १३ चैत, २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुदाँ नं ४२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यस सम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख गरिएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले पहिचान भएका सट्टेबाजी एप र विभिन्न वेबसाइट बन्द गरेको समाचार पनि सार्वजनिक भयो । तर सामाजिक संजालमा प्रहरी प्रशासनको स्वीकृति प्राप्त बेटिङ एप भनेर खुलेआम प्रचार गरी जुवा खेलाउने विज्ञापन प्रशारण भइरहेका छन् । खुलेआम अबैध अनलाइन जुवा खेलाउने विज्ञापन भइरहँदा पनि राष्ट्रबैंकको एफआईयु नेपाल (साविकको बित्तीय जानकारी ईकाई) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले यस्ता एप संचालकहरुलाई पक्राउ गर्न सकेको छैन ।
अबैध अनलाइन जुवा लगायतका अपराध नियन्त्रणका लागि सीआईबीलाई प्रविधियुक्त बनाउन सरकारले १ करोड रुपैयाँ सोझै उपलब्ध गराउने वालेन्द्र शाह सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १ सय कार्यसूचीको ९४ नम्बर बुँदामा उल्लेख गरिएको थियो । तर, सरकार गठन भएको २ महिना पुग्दा पनि सीआईबीले अनलाइन जुवा खेलाउने एउटा पनि गिरोह पक्राउ गर्न सकेको छैन ।
अबैध अनलाइन जुवा नियन्त्रणका लागि सरकारले सोझै १ करोड रुपैयाँ दिए पनि सीआईबीले यसमा ठोस काम गर्न सकेको देखिएको छैन । प्रहरी प्रधान कार्यालयमार्फत् दिनुपर्नेमा सरकारले महत्वका साथ सीआईबीलाई शक्तिशाली बनाउनेगरी सोझै बजेट दिंदा पनि खुलेआम अनलाइन जुवा नेपालमा संचालन भइरहनुले अनलाइन जुवा खेलाउने गिरोहको कनेक्सन कतै प्रधानमन्त्री कार्यालयकै आईटी विज्ञहरुसँग त छैन भन्ने प्रश्न खडा गरेको छ ।
बंगलादेश र भारतबाट लखेटिएका अनलाइना जुवा खेलाउनेहरु नेपालमा
बंगलादेशमा २ बर्षअघि शेख हसिना नेतृत्वको सरकारले नै अनलाइन जुवा खेलाउनेलाई सैनिक परिचालन गरी बन्द गरेको थियो । बंगलादेशले कठोर कारबाही गरेर लखेटेपछि अनलाइन जुवा खेलाउनेहरु भारतमा सुरु गरेका थिए ।
भारतमा अबैध अनलाइन जुवामा दैनिक अरबौंको कारोबार हुन थालेपछि सरकारले गएको भदौमा कडा कानुन ल्याएर प्रतिबन्ध लगायो । करिब ४५ करोड मानिसले अनलाइन जुवा खेल्दै प्रत्येक बर्ष २.३ अर्ब अमेरिकी डलर गुमाउने गरेको तथ्यांक सार्वजनिक भएपछि भारतले संसदबाटै कानुन बनाएर अनलाइन जुवामा प्रतिबन्ध लगाएको थियो । नयाँ कानून अन्तर्गत तास, पोकर लगायतका अनलाइन जुवा प्लेटफर्म पूर्णरूपमा प्रतिबन्धित गरिएको छ । भारतले अनलाइन जुवा खेले, यसको प्रचार वा वित्तीय लगानी गरेमा पाँच वर्षसम्म कैद सजाय हुने कानुन ल्याएपछि यो खेल बन्द प्रायः भयो ।
भारतमा प्रतिबन्ध लगाएपछि यस्तो अवैध काममा संलग्न भारतीयहरु नेपालमा आएर खुलेआम बेटिङ एपमार्फत् जुवा खेलाउन थालेका छन् । भारतीयहरुलाई काठमाडौंमा बस्नका लागि भिसा नचाहिने भएकाले कोठा वा घर भाडामा लिने लिएर अनलाइन जुवा धन्दा चलाउने गरेका छन् । जसको कुलतमा नेपाली युवापुस्ता परेको छ ।
जेनजी आन्दोलनपछि नेपालमा अनलाइन जुवा यति फष्टाएको छ कि खुलेआम फेसबुक, इन्स्टाग्राम, युट्युबहरुमा अनलाइन जुवाको बिज्ञापन गर्दा पनि सीआईबीदेखि सरोकारवाला निकाय मौन छन् । नेपालका ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस मार्फत् २४ घन्टा अनलाइन जुवामा दैनिक ५० करोड कारोबार भइरहेको छ ।
सामाजिक संजालमार्फत् खुलेआम विज्ञापन गरी अबैध अनलाइन जुवामा दैनिक ५० करोडको कारोबार भइरहँदा राष्ट्रबैंकको एफआईयु नेपाल र सीआईबी मौन रहनुलाई थप रहस्यमय मानिएको छ । सामाजिक संजालमा जुवाको बिज्ञापन गर्दा पनि अनुसन्धान गर्ने निकायका उच्च अधिकारीहरु मौन रहनुले सेटिङमै अबैध अनलाइन जुवा फस्टाएको आशंका गर्ने पर्याप्त आधारहरु देखिएका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (१) मा जुवा खेल्नु वा खेलाउनु नहुने व्यवस्था गरी नेपालमा जुवा, बेटिङ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन निषेध गरिएको छ । तर सामाजिक संजालमा कम्पनी रजिष्टारको पत्र देखाउँदै प्रहरी प्रशासनबाटै अनुमतिप्राप्त बेटिङ एप भनी सर्वसाधारणलाई झुक्याउने विज्ञापन गरी जुवा खेलाउने गरिएको छ ।
नेपालफेसले अनलाइन जुवा खेल्नका लागि सामाजिक संजालमा गरिएका विज्ञापनका केही स्क्रीनसट समेत समाचार तयार पार्नका लागि लिएको थियो । राष्ट्रबैंकको एफआईयु नेपाल र सीआईबीले अनलाइन जुवाका यस्ता विज्ञापन देख्न नसक्नुलाई आश्चर्यका रुपमा लिइएको छ ।
नेपालकै बैंक वा वित्तीय संस्थाबाट दैनिक ५० करोडको कारोबार भइरहेको छ । तर नियमन गर्नुपर्ने राष्ट्रबैंकको एफआईयु नेपाल र अनुसन्धान गर्नुपर्ने सीआईबीले अहिलेसम्म कुनै ठोस काम गर्न सकेको देखिँदैन । अनलाइन जुवा(बेटिङ)मा खेलाउनेले ३० प्रतिशत मुनाफा(मार्जिन) पाउँछन् । अनुमानित दैनिक ५० करोडका दरले कारोबार हुने अनलाइन जुवाको ५ प्रतिशत कमिसन मात्रै २ करोड ५० लाख हुन आउँछ ।
यस हिसाबले मासिक १५ अर्ब रुपैयाँको अवैध जुवा खेलाउनेहरुमाथि सरकारले समयमै कडा कारबाही नगरेमा नेपालमा अबैध कारोबार फष्टाउने त छँदैछ, अनलाइन सट्टेबाजीमा युवाहरुको ठूलो संख्या फस्नेछ । पछिल्ला दिनमा अनलाइन जुवामा फस्ने युवाको संख्या दिनहुँ बढिरहेको छ । अनलाइन जुवा खेलाउने गिरोहहरूले यस्तो गेमबाट करोडौँको कारोबार गर्दा अवैध कारोबार फस्टाउँदै गएको छ ।
सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीले सामाजिक संजालमा भ्रमपूर्ण विज्ञापन गरी सट्टेबाजी एप संचालन गरी अबैध अनलाइन जुवा खेलाउने समूहका बारेमा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए । सरकारको शासकीय सुधारका १ सय बुँदामा सीआईबीलाई प्रविधियुक्त बनाउनका लागि १ करोड रुपैयाँ बजेट समेत दिइएको थियो । तर सरकार गठन भएको २ महिनासम्म पनि एउटा पनि अबैध अनलाइन जुवा खेलाउने गिरोह नियन्त्रणमा आउन नसकेकोबारेमा केसीले भने–‘अवैध अनलाइन जुवाको बारेमा साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ । सरकारले दिएको १ करोड रुपैयाँ सीआईबीलाई प्रविधियुक्त बनाउनका लागि हो ।’
सीआईबी र राष्ट्रबैंकको एफआईयु नेपालले देख्न नसकेका अबैध अनलाइन जुवा खेल्नका लागि सामाजिक संजालबाट गरिएका विज्ञापन






भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend