Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायुसेवा निगमका ५ संचालक नियुक्तिबिरुद्ध हेल्लो सरकारमा उजुरी, पारदर्शीतामै उठाइयो प्रश्न


    शुक्रबार, जेष्ठ १ २०८३
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यको नियुक्ति अपारदर्शी र चलखेलका आधारमा गरिएको भन्दै हेलो सरकारमा उजुरी परेको छ । पर्यटन मन्त्री खड्कराज पौडेल(गनेश)ले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी निगमको संचालक समितिमा ५ जना नियुक्त गरेका थिए ।

    प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी दर्ता गरिएको उजुरीमा संचालक छनोटको सबै प्रक्रियाको छानबिन गरेर मात्र नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

    स्वास्थ्य वीमा बोर्डमा श्रीमती नियुक्ति गर्दा विवादमा परी पदमुक्त भएका पूर्व श्रम तथा रोजगार मन्त्री दीपककुमार साह श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य वीमा बोर्डमा नियुक्त गर्दा जसरी विवादमा परी बर्खास्त भएका थिए, त्यस्तै विवादमा आउने गरी पर्यटन मन्त्री पौडेलले निगममा संचालक नियुक्त गरेको आरोप छ ।

    प्रधानमन्त्री पर्यटन मन्त्री पौडेलले पोखराका डा. दीपकप्रसाद बास्तोला, चितवनका प्रविण भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, काठमाडौंका रूपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका छन् । मन्त्री पौडेलले गरेको निगमको संचालक नियुक्ति वर्तमान सरकारले अघि सारेको सुशासन र पारदर्शिताको अभियान व्यवहारमै अनुभूत हुने किसिमको नभएको उजुरीमा उल्लेख छ ।

    निगमको संचालक समिति सदस्य नियुक्ति पारदर्शी नभएको भन्दै हेलो सरकारमा परेको उजुरीमा उल्लेख छ–‘निगमको संचालक नियुक्ति गर्दा उम्मेदवारहरूको प्राप्ताङ्क, मूल्याङ्कनको आधार तथा छनोट प्रक्रियासम्बन्धी स्पष्ट विवरण उल्लेख नगरिएका कारण उक्त प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि स्वाभाविक रूपमा प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।’

    राज्यका महत्वपूर्ण सार्वजनिक संस्थानहरूमा योग्य, सक्षम र निष्पक्ष व्यक्तिहरूको चयन होस् भन्ने आम नागरिकको चाहनाअनुरूप उक्त प्रक्रिया प्रारम्भ भएकोमा नागरिक समाज तथा युवापुस्तामाझ सकारात्मक सन्देश गएको थियो । तर बिहीबार पर्यटन मन्त्रालयले गरेको नियुक्ति त्यो भावनाबिपरीत भएको छ ।

    विशेषगरी सुशासन, पारदर्शिता, उत्तरदायित्व र अवसरको समानताको पक्षमा उठेका जनआवाजलाई आत्मसात गर्दै वर्तमान सरकारले नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अपेक्षा नागरिकहरूले गरेका छन् । योग्यताको सम्मान र खुला प्रतिस्पर्धाको आधारमा हुने नियुक्तिले मात्रै राज्यप्रतिको विश्वास मजबुत बन्नसक्छ भन्ने आम बुझाइ रहेको छ ।

    उजुरीमा निगमको सञ्चालक नियुक्ति प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरी आवश्यक छानबिन गरेर मात्र प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्न माग गरिएको छ । सम्पूर्ण शंका र जिज्ञासा समाधान नभएसम्म नियुक्ति प्रक्रिया अगाडि नबढाउन प्रधानमन्त्री वालेन्द्र शाहसँग माग गरिएको छ ।

    सार्वजनिक निकायमा हुने नियुक्ति प्रक्रियाले केवल व्यक्ति चयन मात्र गर्दैन, यसले सरकारको कार्यशैली, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धता पनि प्रतिबिम्बित गर्दछ । त्यसैले प्राप्ताङ्कसहितको विस्तृत नतिजा सार्वजनिक सार्वजनिक गर्न पनि माग गरिएको छ । हेल्लो सरकारमा दर्ता गरिएको उजुरीको दर्ता नम्बर १२६८०८ आर यु रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार