काठमाडौं । ऋणले थलिएको, भ्रष्टाचार र कुशासनको दुश्चक्र झेलिरहेको नेपाल वायुसेवा निगमको दोहन गर्ने क्रम सुशासन कायम गर्ने उद्देश्यले भएको जेनजी आन्दोलनपछि गठित सरकारका पालामा रोकिन नसकेका तथ्यहरु उजागर भएका छन् । ४६ अर्ब ऋण र १६ अर्ब सञ्चित घाटामा संचालन हुँदैआएको निगममा कामु महाप्रबन्धकका रुपमा अमृतमान श्रेष्ठ(हाल पदमुक्त) ले आफ्नै हात जगन्नाथ गर्दै २ छोराहरू निगममा करारमा नियुक्ति गरेको खुलेको छ ।
निर्देशकहरू तथा डीएमडीले ‘स्टाफ घटाउनू भन्ने सरकारको निर्देशन भइरहेको बेला छोरासहितका कर्मचारी भर्ना गर्नु राम्रो हुँदैन’ भन्दाभन्दै ६ जना दुर्गमका निर्दोष कर्मचारीहरू र तीमध्ये पनि एकजना ३३ बर्षदेखि काम गरिरहेका ड्राइभरलाई समेत निकालेर अमृतमानका दुई छोराहरु करारमा राखिएको थियो ।
अमृतमानले आफ्ना दुई छोराहरूका अतिरिक्त निगममा करीब ३० जना जति कर्मचारीहरू ज्यालादारी र करारमा राखेर प्रत्येकसित रकम असुलेको कुराले निगम हल्लिएको छ । तर जेनजी आन्दोलनको जगमा दुईतिहाई मत पाएको रास्वपाका बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले यसरी भर्ति गरिएकाहरुलाई हटाउने प्रक्रिया सुरु गरेको छैन । सरकारको निर्देशनविपरीत अमृतमानले नियुक्त गरेका उनका २ छोरा र ज्यालादारी र करारका कर्मचारीहरू तुरुन्तै निगमबाट पदमुक्त गर्नुपर्नेमा अझै पनि यथावत राखिएका छन् ।
निगमको रिजनसेन ६९ वर्षको इतिहासमा पहिलो पटक सीईओले आफ्नै पासवर्डबाट नियन्त्रणमा लिई बजारमा चलेको आर.बी.डी(रेट) भन्दा ४–५ तह तलको आर.बी.डी. मा ग्रीनलाइन, एलिसरा र हार्भेस्ट मुन जस्ता ट्राभललाई दिएर करोडौं रकमको भ्रष्टाचार गरिएको छ । जसको छानबिन पर्यटन मन्त्री खड्ग(गनेश) पौडेलले गर्नुपर्ने माग पनि कर्मचारीले गरेका छन् ।
इन्जिन मर्मतमा कमिसनको खेल, अध्ययन नगरी भुक्तानी
नेपाल वायुसेवा निगमका डीएमडी जनकराज कालाखेतीले इजरायलको कम्पनी आई.ए.आई. लाई इन्जिन मर्मतको भुक्तानी गर्दा क्षतिपूर्तिको राम्रो अध्ययन नगरी गरेको खुलासा भएको छ ।
अध्ययनपछि मात्र भुक्तानी गर्नुपर्नेमा अघिल्लो सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको दबाबमा उनले छिटो टुंग्याउन लगाएको भन्दै आई.ए.आई. को भुक्तानी गरेको आरोप छ । आई.ए.आई.का नेपालस्थित एजेन्ट सुरेशलाल श्रेष्ठसित मिलेमतो गरी करोडौं रुपैयाँ कमिशन लिएर अध्यादेशबाट पदच्यूत भएका अमृतमान श्रेष्ठ र कालाखेती मिलेर हतार–हतारमा इन्जिनको भुक्तानी गरेका थिए ।
त्यसको केही रकम पूर्व प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव आदर्शलाई पनि बुझाउनुपर्छ भन्दै अमृतमानले हतार हतार भुक्तानी गरेको चर्चा निगमभित्र व्यापक चल्दैआएको छ । सञ्चालक समितिबाट पछि अनुमोदन गर्नेगरी नियमविपरीत गरिएको भुक्तानी अनुमोदन गर्न समितिमा पेश गर्दा यस्तो कानुनविपरीतको भुक्तानी हामी अनुमोदन गर्दैनौं भनेर सञ्चालक समितिका सदस्यहरूले फिर्ता गरिदिएका छन् ।
कारबाही गर्नुपर्ने अमृतमान महाप्रबन्धकको दौडमा
नेपाल सरकारले अध्यादेशमार्फत् सम्पूर्ण राजनीतिक नियुक्तिहरू खारेज गरी नयाँ नियुक्ति गर्ने उद्देश्यका साथ पेश गरेको अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ । नियुक्ति खारेज गरिसकेको अवस्थामा पनि उनी आर्थिक चलखेल गरी पुनः महाप्रबन्धक हुने दाउमा छन् ।
स्रोतका अनुसार इन्जिनको गैरकानुनी अनियमित भुक्तानी, कोरिया, दुबई र भारतको जि.एस.ए. हरूसित उठाइएका ठूला–ठूला रकमहरू पर्यटन सचिव मुकुन्द निरौला र नयाँ बिचौलियाका रुपमा उदाएका हामी नेपालका अनिल बानियाँमार्फत् बुझाएर पनि सञ्चालक समितिको सदस्यमा पुनः नियुक्ति लिएर फेरि महाप्रबन्धक हुने दाउमा अमृतमान श्रेष्ठ सक्रिय भएका छन् ।
टाइपिष्टलाई तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले सिनियर हो भन्ने नाउँमा म्यानेजर बनाइदिएका र त्यहीँबाट रिटायर्ड भएका अमृतमान प्रेम आले पर्यटन मन्त्री हुँदा उनलाई नजराना बुझाएर सञ्चालक समितिको सदस्य भएका थिए । यस्ता विवादित अमृतमानलाई सरकारले पुनः नियुक्ति गर्ने होइन, छानबिन गरेर कारवाही गर्नुपर्ने माग पनि निगमभित्रै भइरहेको छ ।
अमृतमानले गरेका केही अनियमितताका उदाहरण
१. नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली परिच्छेद २५ को विनियम २३२ अनुसार तीन महिना भन्दा बढी निगमको घर जग्गा भाडामा दिन समितिको स्वीकृति लिनुपर्ने भनिएकोमा सो नगरिकन टेन्डर समेत नगरी एकैपटक पाँच वर्षका लागि पोखराको जग्गा भाडामा दिइएको छ । जुन जग्गा भाडामा दिने क्रममा निगमका काम चलाउ प्रमुख अमृतमान श्रेष्ठले नियमविपरीत काम गरी निगमलाई घाटा पुर्याई करोड भन्दा बढी रकम कुम्ल्याएको आरोप छ ।
जग्गा भाडा प्रकरणमा अमृतमानलाई सहयोग गर्नेमा जिएसपीएमका निर्देशक जीवनकुमार भट्टराई र पहिले पासपोर्ट काण्डमा एयरपोर्टमा रंगेहात समातिएका रमेशनाथ पाण्डे (पूर्वमन्त्री) का भाइ महेशनाथ पाण्डे पनि हुन् । पाण्डेसँग घनिष्ट नरेश श्रेष्ठले जग्गा भाडामा अमृतमानलाई सहयोग गरी आर्थिक फाइदा लिएको स्रोतको दाबी छ ।
२. एकातिर नेपाल सरकारले कर्मचारीहरूलाई तीन महिनासम्म विदेश भ्रमणमा रोक लगाएको छ भने अर्कोतिर यस्तो निर्णयलाई चुनौती दिँदै पोखराको निगमको जग्गामा बिनाटेन्डर राजेन्द्र गोरखाली इनलाई मिलाइदिएबापत नरेश श्रेष्ठलाई रिटायर्ड हुन १५ दिन बाँकी हुँदा दस दिनको जापान भ्रमणको पुरस्कार दिइएको थियो । अवकाशको मुखमा यसरी बिदेश भ्रमणमा पठाएर घाटामा रहेको निगमलाई ब्ययभार थप्ने अमृतमानमाथि कारबाही गर्नुपर्ने माग पनि भइरहेको छ । नरेश श्रेष्ठ युवराज अधिकारी अध्यक्ष हुँदा पनि चाकडी गरी पटक–पटक विदेश भ्रमणमा मौका पाएका कर्मचारीा हुन् ।
३. यस्तै अमृतमान श्रेष्ठ, जीवन भट्टराई र नरेश श्रेष्ठ एवं सुरेन्द्र सिहाकार टिमको मिलेमतोमा डीएमडी जनकराज कालाखेतीलाई समेत माइनस गरी निगमको क्यान्टिन भएको दक्षिणपट्टिको जग्गाभित्र व्यापारीको लागि बाटो खोलिदिएर निगमको जग्गा सार्वजनिक बनाइदिएका छन् । निगमको सरकारी जग्गालाई व्यापारीक हितका लागि बाटो दिने अमृतमानलाई तत्काल कडाभन्दा कडा कारवाही होस् । यसरी निगमको जग्गाबाट बाटो दिने क्रममा पनि यो टीमले लाभ लिएको आरोप छ ।
निगमको ४६ अर्ब ऋण, १६ अर्ब घाटा
नेपाल वायुसेवा निगमको सञ्चित घाटा ४ अर्बबाट बढेर १६ अर्ब रुपैयाँ पुगेको छ । निगम ५० अर्ब रुपैयाँ ऋणमा छ । यसमध्ये कर्मचारी सञ्चय कोषलाई २७ अर्ब र नागरिक लगानी कोषलाई मात्रै १६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । निगमले सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ र लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । जसको नियमित किस्ता तिर्न नसक्दा तिर्नुपर्ने रकम बढिरहेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend