Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्ष पनि नबन्ने, अर्थमन्त्रीको अध्यक्षतामा समिति बनाउने तयारी


    बुधबार, बैशाख ३० २०८३
    930
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै उठेर हिंडेपछि सामाजिक संजाल र बौद्धिक जगतमा प्रधानमन्त्री वालेन्द्र शाहको चर्को आलोचना भइरहेको छ । अमर्यादित ब्यवहार प्रदर्शन गरेको भन्दै  सामाजिक संजालमा उनको बिरोध भइरहेको छ ।

    राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा जसरी प्रधानमन्त्री शाह बीचमै हिंडेर अशोभनीय हर्कत देखाए । बुधबार नीति तथा कार्यक्रमप्रति सांसदहरुको प्रश्नोत्तरको जवाफ नदिएर अर्को गैरजिम्मेवार ब्यवहार देखाएका छन् ।

    संघीय संसद सचिवालयले प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रमप्रति सांसदहरुको प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची सार्वजनिक गरिसकेको थियो । तर बुधबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नोत्तरको जवाफ दिने समाचार प्रधानमन्त्रीको सचिवालयबाट बाहिरियो ।

    प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने ब्यवस्था हो यो । तर प्रधानमन्त्री शाहले आफ्नै सरकारको नीति कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दा अमर्यादित ढंगले हिंड्ने, सांसदहरुको जवाफ नै नदिने जस्ता कार्यले संसदकै अपमान गरेको छ । त्यसो त प्रधानमन्त्री शाहकै कारण राज्यब्यवस्था तथा सुशासन समितिको बैठकसमेत बस्न सकेको छैन । राज्यब्यवस्था समितिको बैठक प्रधानमन्त्रीकै कारण बस्न नसकेको बिषयमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेदेखि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले समेत सार्वजनिक बिरोध गरिरहेका छन् ।

    राष्ट्रपतिको सम्बोधनमा बीचमै उठेर हिंड्ने, नीति कार्यक्रममा सांसदहरुको जवाफ समेत नदिने प्रधानमन्त्री शाहले गणतन्त्र दिवस–२०८३ को मूल समारोह समितिको अध्यक्ष हुन समेत अनिच्छा देखाएर अर्को अनौठो ब्यवहार देखाएको गृहमन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

    संबिधान जारी भएपछि हरेक बर्ष जेठ १५ गते गणतन्त्र दिवस भब्यताका साथ मनाउने गरिएको छ । तर प्रधानमन्त्री वालेन्द्र शाहले गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्ष हुन अनिच्छा देखाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बनाउनू भनेपछि समिति नै गठन हुन नसकेको गृहमन्त्रालय स्रोत बताउँछ ।

    गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री नै हुने ब्यवस्था छ । तर प्रधानमन्त्री शाहले गणतन्त्र दिवस मूल समारोह समितिको संयोजक हुनै अस्वीकार गर्नुलाई भने रहस्यमय रुपमा लिइएको छ । के उनी गणतन्त्रप्रति प्रतिबद्ध छैनन् भन्ने आशंका पनि उत्पन्न हुन थालेको छ । हजारौंको बलिदानपछि प्राप्त गणतन्त्रलाई रास्वपाको झन्डै दुईतिहाई सरकारका प्रधानमन्त्री वालेन्द्र शाहले मजाकको बिषय बनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार