Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा रवि–वालेन भेटवार्ता, बरिष्ठता अनुसार नै सिफारिस गर्न सुझाव


    बिहिबार, बैशाख २४ २०८३
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति र बरिष्ठ नेताको भेटवार्ता गराउन पनि मध्यस्थकर्ता नै चाहिने अवस्था विद्यमान देखिएको छ । सरकार संचालनमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता प्रधानमन्त्री वालेन्द्र शाहबीच ट्युनिङ नमिलेका समाचारहरु आउनु र उनीहरुको भेटवार्ता गराउन मध्यस्थकर्ता नै आवश्यक हुनुलाई संयोगमात्र मान्न सकिन्न ।

    यसैक्रममा वालेन्द्र शाहलाई रवि लामिछानेसँग भेट गराएर रास्वपामा आवद्ध गराएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा उनीहरुबीच वार्ता गराउन पुलके भूमिका निभाएको स्रोतको दाबी छ ।

    शाहकै मध्यस्थतामा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार र प्रधानमन्त्री कार्यालय सिंहदरबार छँदाछँदै २ जनाको भेटघाटको चाँजोपाँजो कमलपोखरीस्थित असिम शाहको निवासमा भएको छ ।

    बुधबार साँझ भएको उक्त भेटवार्ता प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा केन्द्रित रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको रोहबरमा भएको उक्त भेटवार्तामा सभापति लामिछानेले प्रधानन्यायाधीशमा रोलक्रम मिच्न नहुने सुझाव दिएका थिए ।

    प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक बिहीबार ५ बजे बोलाइएको छ । प्रधानमन्त्री कार्यालयमा बोलाइएको उक्त बैठकबाट नयाँ प्रधानन्यायाधीशको सिफारिस हुने बताइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भने बरिष्ठता मिचेर डा. मनोजकुमार शर्मा वा तिलप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सोचमा रहेको चर्चा भइरहेको छ ।

    प्रधानन्यायाधीशमा रोलक्रम मिच्न खोजेको आशंकामा संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक फिर्ता गरिदिएका थिए । तर प्रधानमन्त्री शाहले पुनः अध्यादेश पठाएपछि राष्ट्रपति पौडेलले बाध्यात्मक रुपमा जारी गरेका थिए । जुन अध्यादेशमा संवैधानिक परिषदमा ६ जना हुने भएतापनि ३ जनाको बहुमत हुने अनौठो प्रावधान राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार