Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • आयातित अलकत्रा भन्दा स्वदेशी सिमेन्ट प्रयोगलाई प्राथमिकता दिऔं : मुख्यमन्त्री बानियाँ


    मंगलबार, माघ ६ २०८२
    960
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • हेटौंडा । सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माण सम्बन्धी एकदिने तालिम कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।

    मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपाल प्रा.लि. को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सडक निर्माणमा आयातित अलकत्राको प्रयोग घटाई स्वदेशमै उत्पादन हुने सिमेन्ट प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवद्र्धन मात्र नभई देशको व्यापार घाटा न्यूनीकरणतर्फको कदम भएको उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री बानियाँले दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य रहेको बताउँदै बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गरी आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिमेन्टको अधिकतम खपतका लागि पनि कालोपत्रे सडकको सट्टा कङ्क्रिट सडकतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा इन्जिनियर अर्जुनजंग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौतीहरू उल्लेख गर्दै कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो विकल्प भएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रमको पृष्ठभूमि तथा उद्देश्यबारे जानकारी दिँदै हाल नेपालमा ९० प्रतिशतभन्दा बढी मालसामान तथा यात्रु ढुवानी सडक यातायातमार्फत हुँदै आएको अवस्थामा दिगो सडक पूर्वाधार विकास अत्यावश्यक रहेको जनाए । कालोपत्रे सडकको तुलनामा प्रारम्भिक लागत केही बढी भए पनि कङ्क्रिट पक्कीकरण दीर्घकालीन रूपमा कम मर्मतसम्भार खर्च, उच्च टिकाउपन र विश्वसनीयताका कारण समग्रमा सस्तो पर्ने निष्कर्ष प्रस्तुत गरिएको थियो ।

    तालिममा कङ्क्रिट सडकको अवधारणा, प्रकार, छनोटका आधार, डिजाइन सिद्धान्त, संरचनात्मक तत्व, जोइन्ट तथा रिइनफोर्समेन्टको भूमिका र निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । नीति निर्माण, योजना, डिजाइन, सुपरिवेक्षण तथा निर्माणमा संलग्न प्राविधिक जनशक्तिलाई लक्षित गरी तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वाधार विकास योजना कार्यालय मकवानपुरका सुपरिटेन्डेन्ट इन्जिनियर दीपक कुमार दास, नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ईश्वर थापालगायत विभिन्न निकायका प्रतिनिधि तथा प्रदेशका प्राविधिकहरूको उपस्थिति थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार