काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा सांसद माधव सापकोटाले प्राकृतिक विपदबाट हुनसक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर विपद् प्रतिकार्यसँग सरोकार भएका संस्था र निकायलाई उच्च सतर्कताका साथ खटाउन सरकारसँग आग्रह गरे ।
यही वैशाख १ देखि २८ गतेसम्म सात सय ३२ वटा विपद्का घटनाबाट २१ जनाको मृत्यु र १७ करोडको क्षति भएको जानकारी दिँदै उनले सरकारी निकायका बीचमा समन्वय नहुँदा उद्धार तथा राहत व्यवस्थामा चुनौती थपिएको बताए ।
“प्रि–मनसुन सुरु भएको छ, कतिपय राजमार्ग अव्यवस्थित हुँदा यात्रुमा त्रास छ, नागरिकको सडकमा बास भइरहेको छ”, उनले भने, “विपद्को उच्च जोखिममा रहेका जिल्लालाई केन्द्रमा राखेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीमा विशेष योजना बनाएर अघि बढ्नुपर्छ ।”
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएकाले आवागमन पूर्णरूपमा अवरुद्ध भएको उल्लेख गर्दै सांसद सापकोटाले स्याउ, लसुनलगायत उपभोग्य वस्तु बोकेर तातोपानी नाका हुँदै नेपाल भित्रिएका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेका जानकारी दिए ।
सांसद रुक्मिणी राना बराइलीले प्रि–मनसुनकै अवस्थामा राष्ट्रिय राजमार्गको अवस्था नराम्ररी प्रभावित भएको जनाउँदै वर्षायाम अगावै सडक स्तरोन्नति गर्न माग गरे । सांसद भगवती चौधरीले सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा पर्ने टयाङ्ग्रा खेलासहित नदीले डुबान तथा कटान गरेर जनधनको क्षति गर्दै आएकाले तटबन्ध गरेर नदी नियन्त्रण गर्न आग्रह गरे ।
सांसद रमा कोइराला पौडेलले यही वैशाख २९ गते आकस्मिक रूपमा आएको बाढीले बिपी राजमार्गको केही भाग बगाउँदा १४ घण्टा यात्रु अलपत्र परेका उल्लेख गर्दै वैकल्पिक बाटोको व्यवस्था गर्न माग गरिन् ।
सांसद रामहरि खतिवडाले ओखलढुंगाको साँघुटार-घोराखोरी-सिलौरीघाट र ढाँडे-रगने-फलाँटे-भूसिंगालगायत सडक बजेट अभावमा निर्माण ठप्प हुने अवस्थामा पुगेको जनाउँदै दूधकोशी जलविद्युत् आयोजनासहित अलपत्र सडक निर्माणमा आवश्यक स्रोत सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद भीमप्रसाद आचार्यले सुनसरी सदरमुकामबाट भारतको सीमासम्म जाने सडक स्तरोन्नतिको कामलाई तीव्र बनाइ चालु आवभित्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्गमा पर्ने विजयपुर खोलामा पुल निर्माण गर्न आगामी आवको बजेटमा स्रोतको सुनिश्चितताका लागि सरकारसँग माग गरे ।
सांसद मेनकाकुमारी पोखरेलले दाङको घोराही–तुलसीपुर चारलेन सडक र टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि स्रोत सुनिश्चित गर्न आग्रह गरिन् । सांसद रणेन्द्र बरालीले गण्डकी र बागमती प्रदेशलाई जोड्ने नारायणी नदीमा बन्ने ‘सिग्नेचर’पुलको निर्माणलाई तीव्र दिन माग गरिन् ।
सांसद मनिष झाले वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई सक्रिय बनाउन माग गरे । सांसद महेश बस्नेतले हवाई सेवा प्रदायक संस्थाले यात्रुलाई अनावश्यक दुःख दिने र अनुत्तरदायी व्यवहार गरिरहेको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा उठाइएका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरिन्। सांसद मैना कार्कीले द्वन्द्वकालीन घटनाको निरूपण गर्न गठित आयोगमा पीडितको प्रतिनिधित्व नहुनु दुस्खद् भएको उल्लेख गर्दै पीडितलाई केन्द्रमा राखेर आयोग गठन गर्न माग गरिन् ।
सांसद रणकुमारी बलम्पाकी मगरले संसद् र संसदीय समितिमा आरोप र प्रत्यारोप मात्र नभई संविधान कार्यान्वयनका लागि बाँकी कानुन बनाउनेतर्फ ध्यान दिन सबैलाई आग्रह गरिन्। सांसद रञ्जुकुमारी झाले तराई मधेसमा बढ्दो गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै उपचारको उचित प्रबन्ध मिलाउन आग्रह गरिन्।
सांसद राजेन्द्रकुमार राईले तमोर कोरिडोरअन्तर्गत धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा सिँचाइका विभिन्न आयोजना सञ्चालन भइरहेकामा स्रोतको अभावका कारण निर्माण ठप्प भएको जनाउँदै आगामी आवमा आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरू सांसद राजेन्द्र बगजाईं, रामकुमार राई, रामकृष्ण यादव, रामशंकर यादव, रुपा शोशी चौधरी, रेखा शर्मा, रोशन कार्की, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लालवीर चौधरी, लेखनाथ दाहाल र विजुला रायमाझीलगायतले विकास निर्माण, सुशासन प्रवर्द्धन, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend