Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्मनाशा खोलामा अख्तियार पस्यो, थप दुई सय रोपनी अतिक्रमण 


    सोमबार, माघ ५ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १० मिनेट पाठ
  • ललितपुर । भूमाफियाहरुले काठमाडौंका सार्वजनिक सरकारी जग्गाहरु गैरकानूनी रुपमा दर्ता गर्ने क्रमलाई अहिले पनि जारी राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारसँगैको ललिता निवासको ११४ रोपनीभन्दा बढी जग्गा गैरकानूनीरुपमा गुठी कायम गरी व्यक्तिका नाममा गर्न समेत बाँकी नराखेका भूमाफियाहरुले खोलाको वहाव नै परिवर्तन गरी २ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमण गर्ने कार्यलाई अन्तिम रुप दिन लागेका छन् ।

     ललितपुरको हात्तीवनस्थित कर्मनाशा खोलाको आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ पुस २६ गते तत्कालीन नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसीसहित टंकबहादुर श्रेष्ठलगायत १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    २०२१ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गा प्लटिङ गरी व्यक्ति विशेषलाई विक्री गर्न लागेको पाइएपछि उनीहरुलाई मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीहरुले आठ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी जग्गा कर्मनाशा खोलाको बहाव तोडमोड गरी जग्गा अतिक्रमण गरेको दावी अख्तियारले गरेको छ ।

    थप दुई सय रोपनी अतिक्रमण 

    युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्याण्ड डेभलपर्स प्रालिका सञ्चालकहरुले ८ रोपनी जग्गा खोला तोडमोड गरी दर्ता गरेको आरोपमा मुद्दा दायर भइसकेको छ । यतिमात्र होइन उनीहरुले थप २ सय रोपनीभन्दा बढी कर्मनाशा खोलाले चर्चेको जग्गा अतिक्रमण गर्न लागेका छन् । युरो हाउजिङका सञ्चालकहरु क्रमश टंकबहादुर श्रेष्ठ, योगेश्वर कृष्ण पराजुली गुणीकाजी मानन्धर, गोपालदास मानन्धर, बबिन मानन्धर उज्जवल मानन्धर, डा.ईश्वरलाल आचार्य, डा.दुर्गामान जोशी र श्रीमती दुर्गेशनन्दिनी भट्टचनसहितले ललितपुर हात्तीवनको कर्मनाशा खोलाको २०२१ सालको नक्सामा रहेको प्राकृतिक बहाव नै परिवर्तन गरी २ सय रोपनीभन्दा बढी जग्गा हडप्न लागेका हुन् ।

    २०२१ सालको नापीअनुसार खोलाको बहाव प्राकृतिकरुपमा नख्खु खोला कर्मनाशा खोला सीई कन्स्ट्रक्सनले निर्माण गरेको पवित्रा निवास कोलोनी छोएर बग्ने गरेको पचासौं वर्षदेखि सबैलाई थाहा भएको स्थानीयहरु बताउछन् ।

     आईजे पायोनियर हुँदै मेरो सिटी अपार्टमेन्टको पश्चिम भएर बग्नुपर्ने खोला भूमाफियाहरुले सेटिङ गरी पूर्वतिर धकेलेर करिब २ सय रोपनी नदीको जग्गा अतिक्रमण गर्न खोजेका छन् । प्राकृतिक रुपमा बगेको कर्मनाशा खोलामा करिडोर बनाउन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले २०७६ कात्तिक २४ मा टेण्डर ग¥यो । टेण्डर सूचना निकाल्दा साविक कर्मनाशा खोलाको करिडोरकोे पार्टपार्टको लागत इस्टिमेटदेखि नक्सा डिजाइनसम्म निकाल्यो । २०२१ मा खोला जहाँबाट बगेको थियो, त्यहींबाट १०-१० मिटर दायाँबायाँ करिडोर बनाउन खाली गर्नु भनी सूचना निकालियो । त्यो सूचना प्रकाशित भएको २ महिनापछि २०७६ पुस १५ मा ललितपुर महानगरपालिका वडा नं. २३ र २८ का वडाध्यक्षद्वय राजेश महर्जन र भुयुकाजी महर्जनले संयुक्तरुपमा हस्ताक्षर गरी बाग्मती सभ्यता विकास समितिले गरेको टेण्डरअनुसार खोलाको दायाँबायाँ खाली गर्न सूचना निकाले ।

    दुईवटा वडाको सूचनापछि भूमाफियाहरु सल्बलाए । र, २०२१ सालको नापीअनुसार बगेको खोलामा करिडोर बनाउन नसकिने भनि सूचना निकाल्न दुबै वडाका वडाध्यक्षलाई प्रलोभन दिइयो ।  ललितपुर महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष भुयुकाजी प्रलोभनमा परेनन्, तर वडा नं. २३ का वडाध्यक्ष राजेश महर्जन भूमाफियाहरुको डिजाइनमा फसे र २०७६ माघ १९ मा २०७६ पुस १५ को स्थगित भएको निकालियो ।

    वडा न. २३ का वडाध्यक्ष राजेश महर्जनसहित भूमाफियाले ललितपुरकै तत्कालीन सांसदलाई समेत प्रभावमा पारी बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुखलाई समेत राखेर २०२१ सालको नापीअनुसार बगेको खोलामा करिडोर निर्माण गर्न नसकिने निर्णय गरी सूचना निकालेका थिए, जुन बैठक सांसद भूसालकै  अध्यक्षतामा बसेको थियो । बैठकमा खोलाको बहाव नै परिवर्तन गरी २ सय रोपनी जग्गा हडप्ने डिजाइनर टंकबहादुर श्रेष्ठ पनि सहभागी थिए । यद्यपि, उनले उक्त बैठकको निर्णयको माइन्यूटमा हस्ताक्षर भने गरेका छैनन् । श्रेष्ठकै डिजाइनमा उक्त मिटिङ राखेर साविक बगेको खोलामा करिडोर निर्माण गर्न नसकिने निर्णय गरे पनि उनी धेरै चतुर भएकाले भोलि अख्तियारले छानबिन गर्न सक्ने देखेर हस्ताक्षर भने गरेका थिएनन् । 

    स्रोत भन्छ, सांसददेखि वडाध्यक्ष, नापी र मालपोतसमेतलाई सेटिङ गरी भूमाफियाहरुले खोलाको बहाव नै परिवर्तन गर्न साविकको खोलामा करिडोर बनाउन नसकिने निर्णय गराउन सफल भए । यो निर्णय गराउन उक्त करिडोर निर्माणको ठेक्का लिएको कम्पनीसमेत मिलेको देखिन्छ ।

    एकीकृत बाग्मती सभ्यता विकास समितिले गरेको टेण्डरअनुसार २०२१ सालको नक्साअनुरुपको कर्मनाशा खोलाको १२ सय मिटरको करिडोर निर्माण गर्नुपर्ने हुन्छ । वडा नं. २३ का वडाध्यक्षसहितले खोलाको वहाव परिवर्तन गरेको विन्दुबाट सडक बनाउँदा जम्मा ८ सय मिटर पर्न जान्छ । जसका कारण ठेकेदारलाई ठूलो रकम फाइदा हुन्छ । त्यसै पनि डेढ किलोमिटरको ट्रयाक खोल्नमात्रै २० करोडमा ठेक्का लिएका ठेकेदारले दूरी कम हुँदा कुस्त फाइदा लिनसक्ने सम्भावना देखेका छन् । त्यसैले उनी पनि नक्कली खोला सिर्जना गरी त्यो खोलामा करिडोर निर्माण गर्ने डिजाइनरमध्येका एक हुन् । बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुखसमेत भूमाफियाहरुको चंगुलमा परेका छन् ।

     लागत स्टीमेट सक्कली खोलाको, निर्माण नक्कली खोलामा

    बाग्मती सभ्यता एकीकृत विकास समितिले २०२१ सालको कर्मनाशा खोलाको करिडोर निर्माणका लागि लागत इस्टिमेट, नक्सा डिजाइन गरी टेण्डर गरेको थियो । तर परिवर्तित बहावअनुसार डिजाइन, लागत इस्टिमेट बनाइएको छैन । २०२१ सालको कर्मनाशा खोलाको बहाव नागबेली आकारको छ । समितिले नक्सा पनि त्यहीअनुसार बनाएको छ । तर नक्कली खोलाको लागत इस्टिमेट, नक्सासमेत नबनाई त्यहाँ करिडोर कसरी बन्छ भन्ने प्रश्न स्थानीयहरुले गरेका छन्  । नक्सा, लागत इस्टिमेट पुनः नबनाई अर्कै ठाउँबाट करिडोर बनाउन सम्भव छ ? सांसदसमेत सहभागी बैठकले यस्तो हचुवा निर्णय गरेको छ ।

    एक ठाउँको नक्सा अर्काे ठाउँको लागि कसरी मिल्छ ? यसको गंभीर रुपमा अनुसन्धान गर्नुपर्ने माग स्थानीयको रहेको छ । भूमाफियाले नक्कली कर्मनाशा खोला सिर्जना गरी एकातिर २ सय रोपनीभन्दा बढी जग्गा हडप्ने प्रयास गरेका छन् भने अर्काेतिर नक्कली कर्मनाशा खोला सिर्जना गरी व्यक्तिको सम्पत्ति हडप्ने प्रयास पनि भइरहेको गुनासो प्राप्त भएको छ । जुन कुरा त्यहाँका जग्गाधनीलाई थाहा नै नदिई नक्कली खोलामा करिडोर निर्माणको कार्य गर्न भूमाफिया र वडा न. २३ सहित सांसद भूसालसमेत लागेकी छन् ।  

    खोलाको हजारौं रोपनी जग्गा कसरी भए गायब ?

    एकीकृत बाग्मती सभ्यता विकास समितिले करिडोरको नक्सा बनाउँदा नै भूमाफियाहरुसँग मिलेर धेरै जग्गाहरु गायब बनाएको छ । खोलाको बहाव कहीँ फराकिलो हुन्छ, कहीं साँघुरो हुन्छ । फराकिलो वा साँघुरो जे भए पनि नदीको बहाव जे जस्तो छ, त्यसैलाई कायम गरी त्यसको दायाँबायाँ १०-१० मिटर छाड्नुपर्छ । नदीको बहाव फराकिलो भए त्यहाँबाट १०–१० मिटर छाड्नुपर्छ । खाली भागमा पानी नबगे बगैंचा पनि बनाउन सकिन्छ । साँघुरो भएको ठाउँमा व्यक्तिको जग्गा अधिग्रहण गरी सरकारले लिएर चौडा बनाउन सक्छ । तर नदीको बहाव फराकिलो छ भने त्यसलाई खुम्च्याउन वा साँघुरो बनाउन मिल्दैन । तर बाग्मती विकास सभ्यता समितिले कर्मनाशा खोलादेखि हरेक नदीलाई समान ढंगले बगेको नक्सा बनाएर सयौं रोपनी जग्गा भूमाफियालाई सुम्पिने काम गरेको स्रोतको दावी छ ।

    अख्तियारले बाग्मती सभ्यता विकास समितिले नक्सा बनाउने क्रममा कुन कुन खोलाहरुको कति कति जग्गा हिनामिना ग¥यो त्यसको छानबिन गरेमा लहरो तान्दा पहरो नै आउने स्थानीयहरु बताउँछन् । सत्यतथ्य खोजविन गरेमा हजारौं रोपनी जग्गा हिनामिना भएको पुष्टि हुनेछ ।

    नापी कार्यालय किन पन्छियो ?

    नक्कली कर्मनाशा खोला सिर्जना गरी त्यसमा करिडोर बनाएर व्यक्तिको जग्गा बिना सूचना हडप्न लागेका वडा नं. २३ का वडाध्यक्ष महर्जन र भूमाफियासहितका समूहले नापी कार्यालय ललितपुरलाई थाहा नै नदिएको खुलेको छ । नापी कार्यालय ललितपुरलाई उच्च अदालत पाटनले कर्मनाशा खोलाको बहाव परिवर्तन गरेको बारेमा बुझ्दा उसले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै २०२१ सालको नापीमा कर्मनाशा खोला बगेको भूगोलको नक्सा दियो । नापीलाई बाग्मती सभ्यता विकास समितिले करिडोरको टेण्डर गरेको बेलादेखि नै सहभागी गराएर नदीको सीमा छुट्याउनुपर्ने थियो । तर बाग्मती विकास समितिले नापीलाई संलग्न गराउँदा फराकिलो खोला साँघुराएको पोल खुल्ने डरले जानकारी नै दिएन ।

    गुपचुप छलफल

    वडा नं. २३ ले नक्कली कर्मनाशा खोलाबाट करिडोर निर्माण गर्ने क्षेत्रका बासिन्दाहरुसँग छलफल गरेको दाबी गरेको छ । तर त्यस क्षेत्रका ४ जना व्यक्तिलाई पनि थाहा नदिई गुपचुपरुपमा बैठक बसी करिडोर निर्माणको निर्णय गराएको अख्तियारले छानबिन गरेमा पुष्टि हुनेछ । ४ जनालाई छलफल गराएर बाँकी अरु ५ सय कित्ताका जग्गाधनीको हक खोस्न पाइन्छ ? पीडित जग्गाधनीले गुनासो गरे । एक जना असन्तुष्ट भए पनि त्यसलाई मनाएर करिडोर निर्माण गर्नुपर्नेमा जबर्जस्ती गुण्डाराज जस्तो व्यवहार गरिएको छ । भूमाफिया र केही जनप्रतिनिधिको मिलेमतोमा व्यक्तिको मौलिक सम्पत्ति नक्कली नदी सिर्जना गरी छिन्न लागिएको स्थानीयको गुनासो छ । आजको साँघु साप्ताहिकबाट

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार