Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजाले देशलाई कङ्गाल बनाएको प्रधानमन्त्री ओलीको आरोप


    शनिबार, बैशाख २७ २०८२
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाहरूले देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले देशलाई अहिलेको गरिबीको अवस्थामा पुर्‍याउने मुख्य जिम्मेवार राजतन्त्र भएको बताएका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भने, देशलाई आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू नै अहिले ‘हामी नभई हुँदैन, हामी आउँछौँ, साथ देऊ’ भनेर लाज नमान्ने अवस्था छ । यिनै हरू हुन् जसले देश कङ्गाल बनाएका हुन् ।’

    उनले पछिल्ला ३० वर्षमा मुलुकले उल्लेखनीय विकास गरेको उल्लेख गर्दै भने, ‘३० वर्षमै देशले विकासको गति लिएको छ । तथ्याङ्कले पनि प्रगति देखाउँछ । अब हामीले यो देशलाई बस्न लायक र विकसित बनाउनु छ ।’

    पर्यावरणीय दृष्टिले नेपाल अत्यन्त पवित्र र स्वच्छ रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा हिमाल, पहाड, जङ्गल छन् । यो त देवभूमि हो । यहाँ त अक्सिजन नै अक्सिजन छ। यस्तो ठाउँमा फोक्साको व्यापारी कसरी आयो ?’

    उनले देशलाई सही दिशामा लैजाने जिम्मेवारी अहिलेको पुस्ताले लिनुपर्नेमा जोड दिए । ‘अहिलेको पुस्ता नै देशको उपचार गर्ने पुस्ता हो । हामीले शुद्ध, पवित्र, स्वच्छ र समृद्ध नेपाल बनाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार