Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार’ प्रदान गरिने


    मंगलबार, बैशाख २३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानद्वारा प्रदान गरिने ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ बरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेलाई प्रदान गरिने भएको छ ।
    प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

    २००८ असार २२ गते काठमाडौँ जिल्लाको जोरपाटी आरुबारीमा जन्मनुभएका चालिसेले ०३७ सालमा उपसम्पादकका रुपमा गोरखापत्र प्रवेश गर्नुभएको थियो । गोरखापत्रमा लामो सेवापछि प्रधानसम्पादकबाट अवकास हुनुभएका चालिसेले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षका रुपमा समेत योगदान पुर्याउनुभएको छ । उहाँका पत्रकारिता, संस्कृति, साहित्य सम्बन्धी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

    त्यस्तै, युवामञ्च मासिकका सम्पादक उमेशकुमार ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । कैलाली जिल्लाको धनगढीमा २०२९ सालमा जन्मनुभएका उमेशकुमार ओझाले २०५१ साल असारबाट करार सेवामा गोरखापत्र प्रवेश गर्नुभएको हो । २०५५ मङ्सिरबाट गोरखापत्रमा स्थायी सेवा प्रवेश गर्नुभएका ओझाले खेलकुद तथा अन्र्तराष्ट्रिय समाचार र स्वास्थ्य बिटलाई केन्द्रमा राखी पत्रकारितामा गर्दै आउनुभएको छ ।

    यसैगरी, दि राइजिङ नेपालका विनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमका सपना थामीलाई ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गर्ने निर्णय महासंघले गरेको छ ।

    यस्तै, गोरखापत्र दैनिकका भेषराज बेल्वासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारीलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिने महासंघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश, संस्थानको ६३ औं वार्षिकोत्सवका अवसरमा वैशाख २४ गते राजधानीमा आयोजना हुने कार्यव्रmममा सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार