Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यागमन र प्रहरीको साँठगाँठ : भिजिट भिसामा बैदेशिक रोजगारीमा दसौं हजार उडे


    शुक्रबार, माघ २ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । २०७६ चैत ५ गतेदेखि नेपालले अन्तर्राष्ट्रिय उडान रोकेपछि वैदेशिक रोजगारीमा जाने र आउने क्रम बन्द भयो । कोभिड–१९ ले विश्व आक्रान्त भएको बेला नेपालमा भने त्यसको असर कम परेको थियो । खाडी राष्ट्रमा वैदेशिक रोजगारीका लागि गएका लाखौं नेपालीहरु स्वदेश फर्कन चाहन्थे तर सरकारले उनीहरुलाई स्वदेश फर्कने व्यवस्था गर्न सकेन । बरु जहाँ छौ, त्यही सुरक्षित बस भनेर गैरजिम्मेवारी प्रदर्शन गर्‍यो ।

    व्यापक जनदबाबपछि सरकारले चार्टर्ड फ्लाइटमार्फत अति महंगो दरमा खाडी राष्ट्रबाट केही नेपालीलाई स्वदेशमा ल्याउने व्यवस्था गर्‍यो । चार्टर्ड फ्लाइटका नाममा व्यापक अनियमितता भएका कुराहरु बाहिर आए । कोभिडको महामारीलाई झेल्दै नेपालीहरु खाडी राष्ट्रमा बस्न बाध्य भए ।

    दस महिनादेखि वैदेशिक रोजगारी ठप्प छ । कोभिड–१९ महामारीपछि विश्वभर यससँग जुध्दै सामान्य जनजीवन सुरु भइसकेको छ तर नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बन्द छ । नेपालमा रोजगारी छैन, विदेश जान बन्द छ । यस्तो अवस्थामा लाखौं युवाहरु निराश छन् । उनीहरु जसरी पनि वैदेशिक रोजगारीमा जान चाहन्छन् । युवाहरुको यही मनोविज्ञानलाई बुझेर केही म्यानपावर, कम्पनी र दलालहरुले भिजिट भिसामा दुबई पठाउने गरेका छन् ।

    असोजदेखि पुससम्म दलालहरुले हजारौं नेपालीलाई भिजिट भिसामा यूएई, साउदी अरब, बहराइन र कतार पठाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने गरिएको छ । दलालले प्रतिव्यक्ति २ लाख लिने र अध्यागमन सेटिङमा ६५ हजार देखि ९५ हजारसम्म खर्च गरी भिजिट भिसामा यूएईलगायतका मुलुकहरुमा पठाउने गरेका छन् । भिजिट भिसामा अध्यागमनका कर्मचारीले घुस लिएर पठाउने गरेको सूचना लिक भएपछि गृह मन्त्रालयले एक महिना अगाडि अध्यागमन कार्यालय एयरपोर्टका १३ अधिकृतलाई तानेको थियो ।

    अध्यागमनका कर्मचारी तानिएपछि केही दिन भिजिट भिसामा पठाउने क्रम घटेपनि पुस महिना लाग्नासाथ पुनः बढेको छ । २०७७ पुस १३ गते करिब ५ सय युवालाई सेटिङ(दस करोड रुपैयाँ घुस)मा दुबई पठाउने तय गरिएको थियो । साँझ ७ बजे फ्लाई दुबई, ९ बजे एयर अरेबियाको जहाज भिजिट भिसामा वैदेशिक रोजगारीमा जानेहरुलाई लिनका लागि स्ट्याण्डबाई राखिएको थियो । तर विमानस्थलमै पत्रकारहरु क्यामेरा लिएर गएको थाहा पाएपछि भिजिट भिसामा जानेहरुलाई लिन आएको एयर अरेबियाको जहाज रित्तै फर्किएको थियो ।

    गृह मन्त्रालयले भिजिट भिसामा नेपालीलाई खाडी मुलुकमा रोजगारीका लागि पठाउने गरेको सार्वजनिक भएपछि अंग्रेजी जानेको हुनुपर्ने, एसएलसी पास र १ हजार अमेरिकी डलर साथमा हुनुपर्ने मापदण्ड बनाएको थियो । तर यी तिनै मापदण्ड अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीका लागि घुस असुल्ने अस्त्र बने । म्यानपावर कम्पनी र दलालहरुले यसअघि प्रतिव्यक्ति ६५ हजार घुस बुझाएर भिजिट भिसामा नेपालीलाई उडाउने गरेका थिए । तर मापदण्डको नाममा थप ३० हजार असुल्न थाले । ६५ हजारमा हुँदै आएको सेटिङ मापदण्डका नाममा अध्यागमनका कर्मचारीलाई ९५ हजार बुझाउनुपर्ने भयो । त्यसको मारमा तिनै भिजिट भिसामा जाने गरिब निमुखा नेपाली युवाहरु परेका छन् ।

    तीन महिनामा कति उडे खाडी ?
    लकडाउन खुकुलो भएपछि वैदेशिक रोजगारीका लागि जानेको संख्याका बारेमा साँघुले अध्यागमन विभागका उपसचिव टेकनारायण पौडेलसँग जानकारी लिएको छ । पौडेलका अनुसार २०७७ भदौ १६ देखि पुस १८ सम्म खाडी मुलुकमा जाने युवाहरुको संख्या ५२ हजार ६ सय ५८ रहेको छ । त्यसमध्येमा सबैभन्दा बढी यूएईकै छ । यूएईमा जानेको संख्या २३ हजार ७ सय ४४ छ । यो संख्या बिदामा आएकाहरुको पनि हो । तर, विदामा आएर फर्किनेको संख्या कम छ ।

    सेटिङमा भिजिट भिसामै जानेको संख्या अत्यधिक रहेको विमानस्थल स्रोत बताउ“छ । यूएईपछि तीन महिनामा कतारमा जानेको संख्या १३ हजार ८ सय ८९ रहेको छ । साउदी अरबमा तीन महिनाको अवधिमा ११ हजार ८ सय ८८ नेपाली गएका छन् । बहराईनमा ९१९, ओमनमा ७३२, कुवेतमा ५२५ जना रहेको छ । सबैभन्दा कम संख्या मलेसिया जानेको संख्या ५०० मात्र रहेको छ । 

    दुबईमा जानेहरुमध्ये अधिकाशं भिजिट भिसामै जाने गरेका छन् । दुबईको संख्या अत्यधिक रहनुले पनि भिजिट भिसामा गएको कुरालाई पुष्टि गर्दछ । भिजिट भिसामा रोजगारीमा जाने युवाहरुको लागि जोखिम बढी हुने गर्दछ । दलालहरुले गन्तव्य मुलुकमा लगेर रोजगारीमा लगाउने आश्वासन दिएका हुन्छन्, तर रोजगारीको ग्यारेन्टी हुँदैन । कुनै कम्पनीले कामदार माग गरेर म्यानपावरबाट जाँदा भोलि जोखिम भए सरकारले उसलाई स्वदेश फर्काउन र क्षतिपूर्ति दिलाउन सहज हुन्छ । तर भिजिट भिसामा जानेका लागि सरकारले कानूनीरुपमा केही गर्ने अवस्था हुँदैन ।

    अध्यागमन र प्रहरीको मिलेमतो
    भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुरु सुरुमा प्रहरीले प्रस्थान कक्षबाटै फर्काइदिने गरेको थियो । अध्यागमनसँग सेटिङ भएपनि प्रहरीसँग नभएका कारण भिजिट भिसामा रोजगारीमा जाने युवालाई उनीहरुको हुलिया हेरेर घुम्न जाने हैसियत नदेखेपछि फर्काइदिने गरेको थियो । वैदेशिक रोजगारीमा जाने र घुम्न जानेको पहिचान प्रहरी र अध्यागमनका कर्मचारीले सहजै गर्न सक्छन् । तर सेटिङ भएपछि रोजगारीमा गएको थाहा हुँदाहुँदै पनि उनीहरुले खुरुखुरु पासपोर्टमा ल्याप्चे हानेर उडाउने गरेका छन् ।

    दलालहरुले पछिल्लो समय प्रहरीमा पनि सेटिङ गरेपछि भिजिट भिसामा रोजगारीमा जानेहरुलाई प्रस्थान विन्दुबाट बिना रोकतोक पठाउने गरेका छन् । विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला र अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत सुशील वैद्यको सेटिङमा दैनिक लाखौं लाख घुसको कारोबार गरी भिजिट भिसामा वैदेशिक रोजगारीमा नेपाली युवाहरुलाई उडाउने गरिएको छ ।

    अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख गौलोचन सैंजुलाई पनि वैद्यले मिलाउने गरेका छन् । सेटिङमा धेरै युवाहरुलाई भिजिट भिसामा उडाउने दिन सैंजु बिदामा बसिदिने गरेका छन् । राजदरबारमा काम गरेका सैंजु हाकाहाकी ठूलो रकम घुस खान डराउने स्वभावका भएकाले सबै सेटिङको जिम्मा वैद्यले लिने गरेका छन् । अध्यागमन विभागका महानिर्देशक रमेश केसी दैनिक भिजिट भिसामा सेटिङमा नेपाली युवाहरुलाई खाडी राष्ट्रमा पठाउने गरेको बारेमा जानकार भए पनि उनले समेत आँखा चिम्लने गरेका छन् । सेटिङको हिस्सा उनीसम्म पनि पुग्ने गरेको स्रोत बताउँछ । कोभिड–१९ अध्यागमनका कर्मचारी र विमानस्थल प्रहरीका लागि फलिफाप सावित भएको छ । दैनिक १ सय भन्दा बढी युवाहरु भिजिट भिसामा उडाउँदा १ करोड घुसको कारोबार हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार