Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्दोलनरत शिक्षकलाई दिनभित्र विद्यालय फर्कन सर्वोच्चको आदेश


    बिहिबार, बैशाख ११ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विगत २३ दिनदेखि शिक्षा ऐनको माग गर्दै राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षकहरुलाई सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले बिहीबार शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन अन्तरिम आदेश दिएको हो ।

    अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न भनेको छ ।

    सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारका नाममा समेत आदेश दिएको छ ।

    ‘विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू’, सर्वोच्चको आदेशमा भनिएको छ ।

    देशभरका सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म आन्दोलनबाट पछाडि नहट््ने बताइसकेको छ । शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा समेत सारिएको छ । एसईईको उत्तरपुस्तिका परीक्षण समेत हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार