काठमाडौं । सामाखुसीबाट गएको पुस १० गते लुटिएको ३० तोला सुन काण्डमा महानगरीय प्रहरी बृत्त महाराजगंजका डीएसपी रोशन खड्कालाई जोगाउने र नयाँबसपार्क गोंगबुका सई नवराज इटनीलाई फसाउने खेल सुरु भएको छ । पुस १० मा सामाखुशीको अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको ३० तोला सुनको ब्रासलेट लुटिएको भनिएको छ ।
सुन लुट्ने दीपक नेपालीलाई सुनसहित नयाँबसपार्क प्रहरीले महाराजगंज बृत्तमा बुझाएको र राति नै लुटेरा छाडिएको समाचार आइतबार बेलुका नै सार्वजनिक भयो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले नै सुन लुटपाटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका थिए । तर सोमबारदेखि सुन बरामदै नभएको र पीडित संयोक कार्कीहरुले नै बयान फेर्न थालेका छन् । पीडित भगाइएको र नयाँबसपार्क प्रभागका सई नवराज इटनी हिरासतमा छन् ।
लुटिएको सुन बृत्तमा बुझाउने सई इटनी हिरासतमा पर्नु, पीडितहरुले सुन लुटिएको होइन भनेर बयान फेर्नुृले डीएसपी खड्कालाई जोगाउने चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ । लुटिएको सुुनसहित नेपालीलाई बुझाएको समाचार आएपछि पीडितहरुलाई बयान नै फेर्न लगाउने काम डीएसपी खड्काले गरेका छन् । बिल नभएको भनी लुट्ने नेपालीलाई छाडेर सुन गायब बनाएको आरोप डीएसपी खड्कामाथि लागेको छ । डीएसपी खड्काले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेकै हवाला दिएर आफूलाई कसैले केही गर्न नसक्ने भन्ने गरेका छन् । उल्टै सई इटनी थुनामा पर्नुले पनि डीएसपी खड्काको शक्तिले काम गरेको चर्चा प्रहरीमा हुन थालेको छ ।
यसैबीच, ३० तोला सुन लुटपाट प्रकरणमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । समितिमा काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य छन् । रावल नेतृत्वको समितिलाई सुन लुटपान प्रकरणको प्रतिवेदन शीघ्र बुझाउनेगरी कार्यादेश दिइएको छ ।