प्रवीण पोखरेल र प्रवीण शाक्य
रुपन्देही । मदिरा पिएर हाँकेको गाडीले ठक्कर दिएर मानिस मार्ने चालकलाई कर्तब्यज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिने खेल सुरु भएको छ । तिलोत्तमा नगरपालिका २ जानकीनगरमा गएको पुस १७ गते अंग्रेजी नयाँबर्षको दिन राति प्रवीण शाक्यले चलाएको गाडीले ठक्कर दिंदा शुद्धोधन गाउँपालिका २ का २४ बर्षीय महेन्द्र मरासिनीको मृत्यु भएको थियो ।
तीव्र गतिमा हाँकिएको कारको ठक्करबाट गम्भीर घाइते भएका मरासिनीलाई क्रिमसन अस्पताल मणिग्राममा पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
मादक पदार्थ सेवन गरी गाडी हाँकेका शाक्यले पैदल हिंडिरहेका मरासिनीलाई ठक्कर दिएका थिए । बुटवलबाट भैरहवातर्फ गइरहेको बा १९ च २०६८ नम्बरको शाक्य आफैंले चलाएको कारले मरासिनीलाई ठक्कर दिएको थियो । शाक्यले मदिरा पिएर गाडी हाँकेको प्रहरी अनुसन्धानका क्रममा खुलिसकेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतितसिंह राठौरले अस्पतालमा परीक्षण गराउँदा उनले अल्कोहल पिएको देखिएको नेपालफेसलाई बताए ।
पैदलयात्रु मरासिनीलाई ठक्कर दिएपछि भाग्दै गरेका शाक्यलाई प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका उनलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएर पेश गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रवीण पोखरेलले दबाब दिएको स्रोतले बताएको छ । यद्यपि डीएसपी राठौरले भने कसैको दबाब नआएको प्रतिक्रिया दिएका छन् । भीआइपी चालक शाक्यको सवारी अनुमतिपत्र(लाइसेन्स) समेत नवीकरण नभएको खुलेको छ । प्रहरीले दुर्घटनापछि शाक्यलाई अस्पतालमा मापसे परीक्षण गराएको थियो । परीक्षण गराउँदा उनले मापसे सेवन गरेको पाइएको थियो ।
लाइसेन्स समेत नवीकरण नभएका र मापसे गरी सवारी चलाएर मान्छे मारेका भीआइपी चालक शाक्यलाई कर्तब्यज्यानमा मुद्दा चलाउनुपर्ने माग पीडित मरासिनीका परिवारले गरेका छन् । तर प्रहरीले सरकारी वकिलसँग सेटिङ मिलाई मुद्दा कमजोर बनाउने चलखेल गरिरहेको छ । पीडितलाई न्याय दिनुपर्ने ठाउँमा उल्टै आर्थिक चलखेल गरी मिलापत्र गराउने काममा प्रहरी नै सक्रिय भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रवीण पोखरेलले शाक्य प्रधानमन्त्री ओलीकै निकट ब्यक्ति भएकाले मुद्दा कमजोर बनाई उनलाई सवारी ज्यानमा मुद्दा चलाउन इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरलाई दबाब दिएको स्रोतले बताएको छ । शाक्य लुम्बिनी विकास कोषका पूर्वसदस्य समेत भएको र प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध देखाउन फेसबुकमा समेत उनले सम्मान गरेका तस्वीरहरु राखेका छन् ।
ललितपुर घर भएका शाक्य लुम्बिनीस्थित लिट्टिल बुद्ध होटलका संचालक तथा जग्गा दलाल पनि हुन् । उनले एसपी पोखरेलसँग सेटिङ मिलाउन बुटवलका जग्गा दलाल र बिचौलियाहरुलाई खटाएका छन् । जुन कुरा डीआइजी रविन्द्र धानुकसम्म पुगे पनि उनले चासो देखएका छैनन् ।