काठमाडौं । निर्जिवन तथा जीवन बीमा कम्पनिहरुको नियामक निकाय बीमा समितिले कोरोना बीमा दाबीभुक्तानी लिनको संख्या १८ हजार ५०२ पुगेको बताएको छ । बीमा समितिले सार्वजनिक गरेको गत पौष १६ गतेसम्मको तथ्यांक अनुसार कुल १८ हजार ५०२ जनाले कोरोना बीमाको दाबीभुक्तानी पाएका छन् । दावी भुक्तानी बापत उनीहरुलाई १ अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ दाबीभुक्तानी गरिएको छ ।
सुरुमा वैशाख ४ गते ल्याइएको कोरोना बीमासम्बन्धी नीति र कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमालेखको बिक्री सुरु गरिएको थियो । कोरोना बिमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर पनि धेरैले लामो समयसम्म पनि दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् । बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान भए पनि दोहोरो दाबी भुक्तानी रोक्न, प्रमाणीकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाउनुपर्ने,लगायत अन्य प्राविधिक कारणले भुक्तानीमा ढिलाइ भएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताउनु भएको छ ।
बीमा समितिका सूचना अधिकारीका अनुसार सरकारले कोभिड परीक्षणको लागि प्राइभेट ल्यावलाई पनि स्वीकृति दिए पछि अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि भुक्तानीमा आर्थिक जटिलता पैदा भएको कारणले पनि भुक्तानीमा केही ढिलाइ भएको बताउनु भएको छ ।
हाल बिमितहरुबाट धेरै गुनासो आएपछि बीमा समितिले प्रत्येक बिमा कम्पनीमा कोभिड बिमा हेल्प डेक्स स्थापना गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले बताउनु भएको छ ।
यस्तो छ कोभिड बीमा भुक्तानीका लागि आर्थिक ब्यबस्थापन
हालसम्म लगभग १६ लाख मानिसले कोभिड बीमा गरेको र प्रिमियम रकम ६ सयको दरले उठाउदा बीमा कम्पनीहरूले ९६ करोड रुपैयाँ लगभग १ अर्ब । पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ र त्यसले नभ्याए (बीमा कम्पनीहरू)को महाविपत्ति जगेडा कोषबाट ५० करोड रुपैयाँ र त्यसपछि पनि नभ्याए बीमा समितिले एक अर्ब रुपैयाँ हाल्ने गरि आर्थिक ब्यबस्थापन गरिएको बीमा समितिका सूचना अधिकारीले बताउनु भएको छ ।
कोरोना बीमा दाबी मध्येका २ हजार ५ सय फिर्ता
कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेका कारणले फिर्ता भएको बीमा समितिले जनाएको छ । प्रक्रिया नमिलेकामा प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० बाट फिर्ता आएको बीमा समितिले जनाएको छ ।
‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५सय बटा दाबीबारे कोरोना बिमा दाबी उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, या नमिल्नेबारे निर्णय गरिने बीमा समितिका सूचना अधिकारीले बताउनु भएको छ ।