प्रकाश रायमाझी
राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म संस्कृति एवं मौलिक परम्परालाई पनि जोगाएको छ ।
महाशिवरात्रिमा सेना दिवस, घोडेजात्रा, बडादसैँमा फूलपाती आदि महत्वपूर्ण पर्वलाई भव्यतापूर्वक मनाउने परम्पराले नेपाली सेनामार्फत मुलुकको श्रीबृद्धिमा अमूल्य योगदान पुगेको छ । यसर्थ, महाशिवरात्रीको अवसर नेपाली सेनाको भूमिका र महत्वलाई गहन रूपमा बुझ्ने अवसर पनि हो ।
नेपालको भौगोलिक विकटता र भूराजनीतिक अवस्था दुवै चुनौतीपूर्ण छन् । उत्तरमा विशाल हिमालय शृंखला छ भने दक्षिणमा तराईको समथल भूमि छ । नेपाल विश्वकै सर्वशक्तिमान बन्ने दौडमा रहेका भारत र चीनले घेरिएको छ । यस कारण नेपाल सामु भौगोलिक चुनौती मात्र होइन, सामरिक जटिलता र सुरक्षा चुनौती पनि छन् । नेपालको राष्ट्रिय राजनीति, आन्तरिक सुरक्षा र परराष्ट्र नीतिका साथै यहाँको राजनीतिक स्थायित्व आफूहरुका लागि महत्वपूर्ण रहेको दुई छिमेकीले बारम्बार दोहोर्याउँदै आएका छन् ।
नेपालको राजनीतिक नेतृत्वको असक्षमता भनौँ वा बिबिध त्रुटीहरुका कारण हुँदै गएको कूटनीतिको प्रत्युत्पादन, भारत र चीनमात्र होइन, यी मुलुकसँग प्रतिस्पर्धामा रहेका अन्य मुलुकले समेत नेपालमा गतिविधि बढाउन थालेका छन् । यस जटिल परिस्थितिमा मुलुकले आफ्नो अस्तित्व र सुरक्षालाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । यसमा नेपाली सेनाको रणनीतिक क्षमता र कूटनीतिक कुशलता मुलुकको अस्तित्व रक्षाका लागि महत्वपूर्ण हुन गएको छ ।
सैना र सैन्य नेतृत्वको भूमिका राष्ट्रिय सुरक्षामा कति महत्वपूर्ण हुन्छ भन्ने विश्वपरिवेशमा देखा परेका अशान्तिका केही घटनाले पनि स्पष्ट पारेका छन् । एक्काईसौँ शताब्दीमा मानिसलाई चाहिने शान्ति सुव्यवस्था र खुसी भएर आफ्ना प्रियजनसँग जिन्दगी व्यतीत गर्न पाउने अवसर नै हो ।
राजनीति र सैन्य नेतृत्वले आफ्नो सन्तुलन गुमाउँदा कूटनीतिक माध्यमबाट सुल्झने समस्या चर्किंदै गएर लाखौँ मानिसले ज्यान गुमाइरहेको उदाहरण हाम्रै आँखा अगाडि छन् । नेपाली जनताको सौभाग्य नै भनौँ, पटकपटकको राजनीतिक जटिलता र उतारचढावका बाबजुद नेपाली सेनाले उच्च व्यावसायिकता प्रदर्र्शन गर्दै राष्ट्रिय सुरक्षालाई अक्षुण्ण राख्न सफल भएको छ । यसका लागि हामी सबै जनता नेपाली सेनाप्रति कृतज्ञ छौँ ।
नेपाली सेनाले आफ्नो सैन्य क्षमतालाई सुदृढ पार्दै विश्व शान्ति र क्षेत्रीय स्थिरतामा समेत योगदान पुर्याउँदै आएको छ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा नेपाली सेनाको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको छ । द्विपक्षीय सैन्य अभ्यास र अन्तर्राष्ट्रिय सहयोगले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, नेपाली सेनाको क्षमता विकासमा मिहिनेत र लगानी अझै बढाउनुपर्ने घटनाक्रमले इंगित गर्न थालेका छन् । सेना भन्नासाथ युद्धमै होमिनुपर्छ भन्ने मानसिकता पनि ठीक होइन, तर आइपर्दा परिस्थितिको सामना गर्न सक्ने सबल सेना हुनु उत्ति नै आवश्यक छ । सक्षम र सबल सैन्य शक्तिले ‘दुस्मन’हरूका विरुद्ध ‘डिटरेन्स’को रूपमा काम गर्छ, जसले गर्दा अनावश्यक द्वन्द्वबाट देश र जनता सुरक्षित रहन्छन् ।
त्यसका लागि सैन्य प्रविधिमा लगानी बढाउँदै अध्ययन अनुसन्धानमा जोड दिनु आवश्यक छ ।
आफ्नो सुरक्षाका लागि आवश्यक माटो सुहाउँदो प्रविधि आफैँले विकास गर्न सक्ने हो भने राष्ट्रिय सुरक्षामा त योगदान पुग्छ नै, सानो बजेटले नै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सहज हुन्छ । नेपाल जस्तो सानो देशले अन्य मुलुकबाट प्रविधि खरिद गरेर आफ्नो सैन्य क्षमतालाई सुदृढ गर्नु कठिन कार्य हो । भारतलगायत धेरै मुलुकले आफ्नो सुरक्षाका लागि आफैँ प्रविधि विकास गर्नुपर्ने आवश्यकता देखेरै त्यसमा मनग्य लगानीका साथै अध्ययन अनुसन्धानमा पनि जोड दिन थालेका छन् । यसमा हामीले पनि ढिलो गर्नुहुँदैन ।
प्रविधिकै माध्यमले विश्वसामु देखा परेका साइबर सुरक्षा, जलवायु परिवर्तन र सीमा सुरक्षाजस्ता नयाँ नयाँ चुनौतीलाई समेत सामना गर्न सजिलो हुनेछ । हामीले सामना गर्ने चुनौती हाम्रै देश र परिवेश अनुसार विशिष्ट प्रकृतिको हुने भएकाले यसमा यथाशीघ्र ध्यान जानु आवश्यक छ । यसमा नेपाली सेनाले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । नेपाल जस्तो देशको लागि सैनिक कूटनीतिले शान्ति र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।
युद्धबिनाको शान्ति पनि महत्वपूर्ण हो । नेपाली सेनाले आफ्नो भूमिकालाई युद्धमा मात्र सीमित नगरी, विपद् व्यवस्थापन, विकास निर्माण र सामुदायिक सेवामा पनि विस्तार गरेको छ । विपतको घडीमा ज्यानको पर्वाह नगरी नेपाली दाजुभाइ दिदीबहिनीका निमित्त सेनाले आफूलाई समर्पित गर्दै आएको छ । यसले नेपाली सेनालाई जनताको नजिक ल्याएको छ र राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।
नेपाली सेनाको भूमिकालाई हेर्दा यो केवल सैन्य शक्ति मात्र नभई, राष्ट्रिय पहिचान, सांस्कृतिक धरोहर र सामाजिक विकासको अभिन्न अंग हो भन्ने स्पष्ट हुन्छ । नेपाली सेनाले आफ्नो कर्तव्य र दायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने हो भने नेपालको शान्ति, सुरक्षा र समृद्धिसमेत सुनिश्चित हुनेछ ।
सेना भनेको आफैँमा एउटा देश पनि हो । बेरोजगार युवाको विदेश पलायनलाई रोक्न पनि सेनाको संख्यामा वृद्धि गर्दै यसलाई आकर्षक पेसाका रूपमा विकास गरिनुपर्छ । देशको उन्नतिका लागि सेनाको भूमिका बढाउन सकिने क्षेत्र अझै पनि प्रशस्त छन् । विषम राजनीतिक परिदृश्यमा देशको स्थायित्व र नेपालीको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षालाई दिगो राख्न आन्तरिक राज्यविप्लवको झिल्कालाई बेलैमा निराकरण गर्नका लागि पनि नेपाली सेनालाई अझै मजबुद बनाउनु पर्ने आवश्यकता छ ।
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend