काठमाडौं । साविक विराटनगर नगरपालिका वडा नम्बर १० मा जन्मेका ७२ वर्षका विद्याप्रसाद गौतमको जग्गा हडप्न प्राइम कमर्शियल बैंकका उच्च अधिकारीहरु ज्यानै फालेर लागिपरेका छन् ।
बैंकमा जग्गा राख्नुस्, ऋण दिन्छौं भन्दै गौतमलाई सुरुमा बैंककै अधिकारीहरुले फकाए । गौतमलाई द रोयल इन प्रा.लि. नामक कम्पनी दर्ता गराइदिए । त्यसपछि ऋण लिनका लागि सहज होस् भनेर सुरुमा कम्पनीमा पवन पाठकलाई पनि साझेदार बनाए । त्यसपछि यो काम तामेल गर्नका लागि राजेश लोहनी पनि शेयर होल्डर बनेको भन्दै थपिए । उनीहरुले बैंकका कर्मचारीसँग मिलेर जग्गा राखेर ऋण लिएको कम्पनीको शेयर आफ्ना नाममा बनाए । ललितपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको ६६ आना जग्गा राखेर ऋण निकाल्ने बताइयो । उक्त जग्गा गौतमलाई मावलीले दिएका थिए ।
गौतमलाई मैतीदेवीको एक घरमा युवतीसहित नजरबन्द जस्तै गरी राखिएको स्थानीयले खुलासा गरे । अहिले अविवाहित गौतम लापत्ता छन् । जग्गा हडप्न खोज्ने गिरोहले केही समयअघि मात्रै गौतमलाई बलात्कार काण्डमा फसाएर ११ दिन प्रहरीले हिरासतमा राख्ने काम समेत गरे । त्यसपछि उनी २ लाख धरौटीमा छुटेका थिए । गौतमलाई फसाउन र जग्गा हडप्ने योजनामुताबिक पाठक र लोहनीले बिभिन्न प्रकारका गैरकानूनी हर्कत पनि गरिरहे । बैंकले एक रुपैयाँ पनि लगानी नभएको कागजी कम्पनी बनाएर ३० करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । बैंककै आग्रहमा यो जग्गालाई ४३ करोड मूल्यांकन गरिएको स्रोतको दाबी छ । जुन जग्गा त्यो समयमा त्यति मूल्य पर्दैनथ्यो ।
ऋणको साँवा ब्याज नबुझाएपछि तीन पटक नेपाल राष्ट्र बैंकले लिलामीका लागि सूचना निकाल्न बैंकलाई दबाब दियो । तथापि बैंकका कर्मचारी शिवराज पन्त, सीईओ संजीव मानन्धर र महाप्रवन्धक अमृतचरण श्रेष्ठ, सहायक महाप्रवन्धक नारायण श्रेष्ठ, बागबजार शाखाका प्रवन्धक राम खत्रीलगायतको मिलेमतोमा एक जना जग्गा खरिदकर्तालाई पास गरिदिने र बढी भएको रकम सबैैजनाले भागवण्डा गरी लिने योजना बनाए ।
डायरी एक्सप्रेस साप्ताहिकका अनुसार २०८० साल माघ महिनामा ३० करोड पनि मूल्य नपर्ने जग्गालाई कमिसनको लोभमा बैंकका अधिकारीहरुले ३० करोड नै ऋण दिएका थिए । त्यसपछि बैंकले लिलाम नगरी दुई करोड ऋण थपेर ब्याजमा असुली गरियो । बैंकका अधिकारीहरुले के प्रयोजनका लागि द रोयल इनलाई ऋण दिएका हुन् ? र त्यो रकम कहाँ लगानी गरिएको छ ? भन्ने जानकारी दिन मानेनन् । बैंकका सहायक महाप्रवन्धक नारायण श्रेष्ठसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले बागबजार शाखाका प्रमुखलाई सोध्नू भन्दै उम्किन खोजे ।
यसैक्रममा बैंकका कर्मचारीसहितको समूहले ललितपुर महानगरपालिकाका पूर्व जनप्रतिनिधि रामकृष्ण महर्जनलाई उक्त जग्गा बेच्ने योजना बनाए । जग्गा लिन खोज्ने महर्जनसँग बैनाबापत ८ करोड रुपैयाँ लिएका छन् । तर, जग्गा अहिलेसम्म पनि पास गरिएको छैन । जग्गा लिने महर्जनले नापनक्साका लागि अमिन लिएर यही माघ १८ गते शुक्रवार फिल्डमा जाँदा स्थानीय सँधियारहरुले जग्गाधनी विद्याप्रसाद गौतमलाई नै ल्याउनू, हामी अरुलाई चिन्दैनौं भन्दै लखेटेका थिए । त्यसपछि स्थानीयको दबाबपछि सबै अपराध भण्डाफोर हुने त्रासले पवन पाठकलगायतको समूह त्यहाँबाट भाग्यो । यसरी उक्त जग्गा बेचेर बैंकका कर्मचारीहरु अमृतचरण श्रेष्ठ, नारायण श्रेष्ठ, शिवराज पन्त, शाखा प्रवन्धक राम खत्री, पवन पाठक र राजेश लोहनीले भागवण्डा गरिलिने योजना बनाएका थिए । र, स्थानीयको दबाबका कारण उनीहरुको उक्त जग्गा बिक्री गर्ने योजना पूरा हुन सकेको छैन ।
लाभकर छल्न अर्को धन्दा
ललितपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको जग्गामा पहिला मोही पनि भएको बताइन्छ । बैंकका कर्मचारी, द रोयल इनका सञ्चालक पवन पाठक र राजेश लोहनीले लाभकर छल्नका लागि शेयर ट्रान्सफर गरी रामकृष्ण महर्जनलाई प्रतिआना ६५ लाखमा दिएको जग्गाको झण्डै तीन करोड लाभकर छल्ने योजना बनाएका छन् । महर्जनले बैनाबापत रकम दिँदा जग्गा पास नै गर्ने भनिए पनि कर छल्ने उद्देश्यले पछि यो योजना बनाइएको स्रोतको दाबी छ । यसमा मालपोतका अधिकारीहरु पनि मिलाउन सकिने बैंकका अधिकारीहरुले बताएको स्रोतको दाबी छ ।
राष्ट्रबैंकको निरीहता
जनताको निक्षेप र शेयर लगानी रहेको प्राइम बैंकमा ३२ करोडको घोटाला काण्ड हुँदा नियमनकारी निकाय केन्द्रीय बैंक नेपाल राष्ट्रबैंक भने कानमा तेल हालेर रोम जल्दाको निरो जस्तै बासुरी बजाएर बसेको छ ।
जग्गाधनी गौतमलाई बेच्न लागेको जानकारी छैन
जग्गाधनी विद्याप्रसाद गौतमलाई २०८० साल चैतमा जग्गा खरिदका लागि सम्पर्क गर्दा आफूले जग्गा भाडाबापत ३ लाख रुपैयाँ बैना लिएको बताएका थिए । त्यसपछि उनलाई बलात्कार काण्डमा फसाएपछि बेपत्ता भएका छन् । यसरी आफन्त पनि कोही नभएका एकल पुरुष गौतमलाई बैंक र बिचौलिया मिलेर अहिले बेपत्ता बनाएको स्थानीय एक जना संधियाराले बताएका छन् । यस विषयमा पवन पाठकसँग सम्पर्क गर्दा उनले जग्गा किन्न खोज्ने रामकृष्णलाई सोध्नू भन्ने आठेजवाफ फर्काएका थिए ।
त्यसैगरी ऋण रकम भन्दै कमिसनको चलखेलमा लागेका बैंकका कर्मचारी शिवराज पन्तले पनि केन्द्रीय कार्यालयमै सोध्नू, मलाई केही जानकारी छैन भन्दै पन्छिएका छन् ।
को को हुन् प्राइम कमर्शियल बैंकका सञ्चालक ?
क वर्गको बाणिज्य बैंकको रुपमा कारोबार अनुमति पाएको प्राइम कमर्शियल बैंकका कर्मचारीको कमिसन मोहमा कस्तो सम्म कारोबार गर्छन् भन्ने घटनाका प्रतिनिधि पात्रको रुपमा यसलाई लिन सकिन्छ ।
बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, बोर्डका डाइरेक्टरहरु नरेन्द्र बज्राचार्य, डा. गजेन्द्र विष्ट, प्रचण्डमान श्रेष्ठ, मनोज पौडेल र डा. तारादेवी चित्रकार रहेका छन् । रुपमा यो घटनालाई तुलना गर्न सकिन्छ । प्राइम बैंकका अध्यक्षमा केही बर्षअघिसम्म नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ अध्यक्ष थिए । अहिले यो बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ छन् भने बैंकको महाप्रवन्धकमा अमृतचरण श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर रहेका छन् ।
प्राइम कमर्शियल बैंक घोटाला काण्ड, को-को संलग्न छन् ?
सर्वसाधारणको बचत र शेयर रहेको ‘क’ वर्गको वाणिज्य बैंक कमिसनको लोभमा कसरी डुबाइँदैछ भन्ने विषयमा अन्यत्र जानुपर्दैन । प्राइम कमर्शियल बैंकका सञ्चालक र कर्मचारीहरु विगतदेखि नै यस्ता अनियमितताका काण्डमा फस्दै आएका छन् ।
बैंकका सञ्चालक र सीइओ, डीसीइओ, महाप्रवन्धक, ऋण विभागका प्रमुखहरुको सेटिङमा कमिसन पाएपछि जस्तो सुकै अवैध काम पनि गरिँदै आइएका छन् ।
ललितपुर ग्वार्कोस्थित ६६ आना जग्गाका धनी विद्याप्रसाद गौतम हाल काठमाडौंको मैतीदेवीमा भाडाको फल्याट लिएर बस्छन् । उनीसँग काभ्रेका पवन पाठक र बिराटनगरकै राजेश लोहनीले मासिक घरभाडा र केही रकम दिने सर्तमा लिजमा लिने भन्दै धितोको लागि विराटनगरका उनै गौतमसँग जग्गा मागे । कोही पनि सहयोगी बिनै एकल जिन्दगी बिताएका विद्याप्रसादलाई उनीहरुले भने बमोजिम हस्ताक्षर गराए । मावलीले दिएको जग्गा विद्याप्रसादका लागि पनि कुनै गाह्रो त भएन । तर, त्यो जग्गा धितो राखेर यसरी आफुलाई फसाउलान् भन्ने चाहि सोचेका थिएनन् । पवन पाठकका निकटका स्रोतका अनुसार उनीहरुले द रोयल इन भन्ने संस्था दर्ता गराए पनि नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा लगानी गरेको बताइन्छ । नेपाल-भारत मैत्री अस्पताल चावहिलका अध्यक्ष हुन् उनै पाठक ।
डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ–विद्याप्रसादलाई खाना पकाउने काम गर्नका लागि भन्दै एक जना महिला कामदार खोजेर पाठक र लोहनीले नै राखिदिएको र त्यही महिला कामदारलाई फकाएर विद्याप्रसाद विरुद्ध जबर्जस्ती करणीको केशमा जाहेरी दिएको बताइन्छ । यसरी यो समूहले एक वर्ष अघि नै विद्याप्रसादलाई अभियोग लगाएर जेलमा थुनाएको थियो । पाठक र लोहनीबाट गौतम पीडित बनेको मैतीदेबी मन्दिरका नजिक बसेर किराना ब्यापार गर्दै आएका एक स्थानीयले दावी बताए ।
यसरी पाठक र बिराटनगरका लोहनी मिलेर प्राइम कमर्शियल बैंकबाट ३० करोड ऋण २०८० सालमा लिए । जुन धितोबापत राखिएको ललितपुरको ग्वार्कोको जग्गा अहिले पनि ३० करोड मूल्य पर्दैन । तर, बैंकले पुनः दुई करोड थप ऋण दिएको छ । तीन पटकसम्म नेपाल राष्ट्रबैंकले लिलाम गर्न निर्देशन दिँदा पनि उल्टै दुई करोड ऋण थपेर बैंकका सञ्चालक घोटालाकाण्डमा प्रत्यक्ष मुछिएका छन् । ललितपुरको गोदावारीमा बुटिक होटल सञ्चालन गर्दै आएका रामकृष्ण महर्जनलाई बेच्नका लागि यो समूहले बैना रकम लियो । अहिले जग्गा पास गरिदिने समय घर्किसके पनि पवन पाठक सम्पर्कमा नरहेको बताइन्छ ।
यस विषयमा प्रतिक्रियाका लागि बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आफूलाई कुनै जानकारी नभएको भन्दै टारे । सीइओ संजीव मानन्धर बाहिर गएको जानकारी पाइयो ।
समाचार प्रकाशन पश्चात बैंक समस्यामा
प्राइम बैंकलाई ऋणीको धितो लिलाम गरी असुली गर्न नियमन निकाय नेपाल राष्ट्रबैंकले तीन पटकसम्म निर्देशन दिएको थियो । निर्देशनबिपरीत बैंकका अधिकारीहरु अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, सीइओ संजीव मानन्धर, सहायक महाप्रवन्धक नारायण श्रेष्ठ, शिवराज पन्त, बागबजार शाखाका प्रमुख राम खत्री, लगायतका मिलेर पुनः दुई करोड ऋण प्रवाह गरियो । पूर्वराज्यमन्त्री तथा सांसद उमेश श्रेष्ठको शेयर रहेको बैंकमा पहुँचकै कारण नियमन निकायले कारबाहीका लागि कुनै पहल गर्न सकेन ।
धितो लिलामी गर्नका लागि केन्द्रीय कार्यालयलाई पटक–पटक नेपाल राष्ट्र बैंकले निर्देशन गरेको बैंकको धितो राखेको जग्गा लिलामी नगरी ललितपुर गोदावरीमा बुटिक होटल सञ्चालक रामकृष्ण महर्जनलाई ऋण दिलाउँछौं जग्गा खरिद गर भन्दै बैंकका अधिकारीहरुले सम्पर्क अघि बढाए । अहिले केही सस्तो मोलमा जग्गा पाउने लोभमा रामकृष्णले झण्डै नौ करोड ऋण लिए । तर, जग्गा पास हैन शेयर ट्रान्सफर मात्रै गरिदिने भन्दै बैंकका सञ्चालक उनलाई अलमलमा पारिरहेका छन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend