काठमाडौं । नेपालभर चिसो बढिरहेको छ । बढ्दो चिसोले हिमालदेखि तराईसम्मका सर्वसाधरणको जनजीवन प्रभावित बन्दै गइरहेको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम १.३ मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियसमा झरेको छ ।
यसअधि पौष ३ गतेको न्यूनतम तापक्रम १.६ मा झरेको थियो भने आज यस बर्षकै कम १.३ डिग्री रहेको छ ।आजको आधिकारिक न्यूनतम तापक्रम चाहिँ हामी अहिले बिहान पौने ९ बजे पुनः अपडेट गरेर राख्छौं,’ मौसमविद् सजिना शाक्यले भनिन्, ‘यही हाराहारीमै पनि रहन सक्छ, तर घट्ने सम्भावना बढी हुन्छ ।’ हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री थियो । एक रातमै १ डिग्रीभन्दा बढी घटेको हो । मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
यतिबेला तराईका थोरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ ।