काठमाडौं । अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ अफल टोल बस्दै आएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार राईले सट्टेबाजी तथा क्रिप्टोमा हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ कारोबार गरेको भेटिएको छ।
भट्टराईका अनुसार राईले ७५ वटा बैंक खाता खोलेको अनुसन्धानमा खुलेको छ। उनले १२८ वटा इ-सेवा वालेट र बाइनान्स आइडी प्रयोग गरेर सट्टेबाजी क्रिप्टो कारोबार गरेको पाइएको छ।
उनले आफ्नै कोठामा विभिन्न सामग्रीहरूको मद्दत लिएर त्यसरी गैरकानुनी क्रियाकलाप गरेको भेटिएको छ।
राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार राईले विभिन्न व्यक्तिको नाममा नागरिकता प्रमाण पत्रसमेत प्रयोग गरेर ७५ वटा बैंक खाता खोलेका छन्। ती खाताको केवाइसी फारममा समेत आफ्नै फोटो टाँसेर ३७ करोड २० लाख ९६ हजार २८२ रुपैयाँ कारोबार गरेको खुलेको छ।
उनले फरक-फरक व्यक्तिहरूको नामबाट १२८ वटा इ-सेवा आइडी खोलेका छन्। फरक-फरक डिभाइसबाट उनले ती खातामा ११ करोड ६७ लाख १९ हजार १९० रुपैयाँ कारोबार गरेका छन्।
राईले बाइनान्स आइडी खोलेर ६ करोड २३ लाख २४ हजार १९१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।
यसैगरी, राईले २५ वटाभन्दा बढी जिमेल अकाउन्ट खोलेर वान एक्स बेट (जुवा) खेल्ने/खेलाउने गरेको खुलेको छ। ‘उनले विभिन्न स्थानमा कोठा लिएर लुकिछिपी, हुलिया परिवर्तन गरेर वान एक्स बेट खेल्ने गरेको अनुसन्धानमा खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।
पक्राउ परेका राई क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाउनेमध्येका मुख्य नाइके हुन्। अन्य व्यक्तिहरूको पहिचान भइसकेको छैन।
‘विभिन्न बैंकमा खोलिएका खाता विवरण हेरेपछि संलग्न अन्यको पहिचान हुन्छ,’ आचार्यले भने, ‘कहिलेदेखि यस्तो कारोबारमा संलग्न हो भनेर सोध्दा स्पष्ट नबताउने गरेका छन्।’ सम्बन्धित बैंक तथा इ-सेवा आइडीको विवरणका लागि प्रहरीले पत्राचार गर्ने तयारी गरिरहेको छ।
अहिलेको अनुसन्धान अनुसार राई किर्ते मुद्दामा समेत तानिन्छन्। उनले मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर सिमकार्ड लिएका छन् ।
उनले विभिन्न व्यक्तिका जिउँदै वा मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर एनसेलका ७० थान, नेपाल टेलिकमका पाँच थान सिमकार्ड लिएको भेटिएको छ। प्रहरीले उनको कोठाबाट अन्य विभिन्न सामग्री बरामद गरेको छ।
बरामद सामग्रीमा ल्यापटप दुई थान, मोबाइल सेट आठ थान, वाइफाई राउटर दुई थान, विभिन्न व्यक्तिको नाममा रहेका नागरिकता ११ थान, राहदानी १५ थान, चेकबुक २२ थान र एटिएम ४२ थान छन्।
‘उनले यस्तो कारोबार गर्दा आफ्नो कोठासमेत प्रयोग गर्ने गरेका छन्,’ आचार्यले भने, ‘ठूलो रकम कारोबार गरेको हुनाले यो निकै लामो समयदेखि कारोबार गरेको हुनुपर्छ ।’
प्रहरीले उनीसँग जोडिएका व्यक्तिहरूको पहिचानका लागि मोबाइल नम्बर ‘ट्रयाकिङ’ गरिरहेको छ।
नेपालको कानुनले अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाएको छ। भारतमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध छैन। भारतमै क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ।
नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ। पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको तीन वर्ष भयो। तर, अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।
क्रिप्टो अर्थात गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend