काठमाडौं । सामाजिक सञ्जाल मार्फत चिनेको युवकसँग बिहे गर्न भारत पुगेकी नेपाली किशोरीको उद्धार गरिएकाे छ। एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरिएकाे हाे।
१६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन्।
काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ती युवतीको मोवाइलमार्फत उनको लोकेसन र फेसबुकमार्फत गतिविधिलाई नजिकबाट नियालेका थिए ।
उनलाई सिहोर प्रहरीले उद्धार गरेको थियो । साथै, युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ। ती युवकलाई प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको हो । किशाेरीलाई अभिभावककाे जिम्मा लगाइएकाे छ ।