काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता पुनः दोहोर्याउनु भएको छ । आज वडा–२ कार्यालय भवनको शिलान्यास गर्ने क्रममा त्यस्तो प्रतिवद्धता दोहोर्याउनु भएको हो ।
भ्याटसहित ५ करोड २८ लाख १० हजार ४ सय ५६ रुपैयाँ लागत अनुमान रहेको वडा निर्माणका लागि बोलपत्रबाट न्यु ड्रागन निर्माण सेवाले भ्याटसहित ४ करोड १७ लाख १५ हजार ९४३ रुपैयाँ लागतमा कवोल गरेको छ । सोही भनवको शिलान्यासपछि सम्वोधन गर्दै २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको स्मरण गराउँदै त्यही निर्णय कार्यान्वय गर्ने क्रममा आज वडा २ कार्यालयको भवन शिलान्यास गरिएको बताउनुभयो । ‘कतिपय ठाउँमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ,’ उहाँले भन्नुभयो, ‘हाम्रै कार्यकालमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिवद्धता अनुशासर अहिले काम भैरहेको छ । ३२ वडामध्ये वडा–८ मा सामान्य विवाद देखिएको छ । ती बाहेक अन्य सबै वडामा विवादरहित ढंगले पुर्ननिर्माण भैरहेको छ ।’ उहाँले आफूले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘कोभिड–१९ का कारण अहिले पनि धेरै वडामा छिर्नै डराउनु पर्ने अवस्था छ । यस्तो गुनासो पनि आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले विस्तारै सबै वडालाई समयानुकुल बनाउँदै लगेका छौँ । उहाँले काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिनुभयो । ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उहाँले भन्नुभयो, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ । यो सबै काम हाम्रै कार्यकाल भित्र सम्पन्न गरेरै छाड्छौँ ।’ शाक्यले वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको जानकारी दिनुभयो । ‘वडा–३ को भबन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।
वडा–४ को भवन पुस मसान्त भित्र सम्पन्न हुने छ,’ शाक्यले भन्नुभयो, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ भने वडा–२६ को भबनबाट पनि सेवा सुरु भएको छ । कोभिड–१९ का कारण उद्घाटन हुन बाँकी छ ।’ शाक्यले आफु टीममा विश्वास गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले नामका लागि काम होइन कामका लागि काम गर्ने बताउनुभयो । ‘मेयर, उपमेयरको काम व्यवस्थापन गर्ने हो, संयोजन गर्ने हो,’ शाक्यले भन्नुभयो, ‘३२ वटै वडाका अध्यक्षलाई हामीले अघि लगाएरका छौँ । केही गुनासो छ भने तपाईँहरुले उहाँहरुलाई भन्नु । हामी समाधान गर्न तयार छौँ ।’ उहाँले सकेसम्म गुनासो नआउने गरी र जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । ‘अहिले काठमाडौँ महानगरपालिका गल्ली र चोकमा मात्रै होइन सडकमा पनि झिलिमिली बनाउने अभियानमा लागेको छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले विद्युत प्राधिकरण र सडक विभागसँग सम्झौता गरिसकेका छौँ ।’ शाक्यले वडा–२ को कार्यालय भवनमा मुल सडकबाट आउने बाटो साँघुरो रहेको भन्दै स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरेको अवस्थामा सडक फराकिलो बनाउन तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले स्थानीय सहयोगबाट मात्र दिगो विकास सम्भव हुने बताउनुभयो । स्थानीयबाट डुवान क्षेत्र व्यवस्थापनको माग आएको छ । तर आफ्नोतर्फबाट कुनै पनि प्रकारको दायित्व निर्वाह भएको देखिँदैन । यसरी गरिएको विकासमा अपनत्व हुँदैन । दिगो हुँदैन । उहाँले वडा कार्यालयले वडाको समृद्धि बढाउने बताउनुभयो । समयमा निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता देखाउँदै कार्यक्रममा वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भुक्तानीमा समस्या नहुने बताउँदै निर्माणमा निर्माण पक्षले ढिला गर्नु नहुने धारणा राख्नुभयो । करीब २१ आना जग्गामा ३ तलाको वडा भवन निर्माण हुनेछ । भवनमा करीव ६० जना व्यक्ति अट्ने सभा कक्ष र प्रशासनिक कक्षहरु हुनेछन् ।
काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले वडा–६ को ढलान कार्य सम्पन्न भएको र वडा–१२ को टेन्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो । ‘वडा–२२ को दुइ तल्ला ढलान भएको छ । वडा–२१ र २९ टेन्डर प्रक्रियामा रहेको छ,’ उहाँले भन्नुभयो, ‘वडा–३१ सिलान्यास हुने प्रक्रियामा छ भने वडा–१६ टेन्डर प्रक्रियामा जान बाँकी छ ।’ अन्य वडा भवनको पनि स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।