काठमाडौं । कास्कीको पोखरा र माेरङकाे विराटनगरमा थप दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र पोखरा-१ का एक/एकजना पुरुषको मृत्यु भएको हो ।
पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।
यस्तै विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो ।
सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा. दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।