Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नवलपरासीको बलिनगर नाका तस्करका लागि स्वर्णभूमि


    आइतबार, कार्तिक २५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • नवलपरासी । पश्चिम नवलपरासीको बलिनगर नाकाबाट भन्सारछली गरी चिनीदेखि खसीबोका नेपालतर्फ भित्रने गरेको छ । भन्सार नतिरी खसिबोका भित्र्याउँदा एकातर्फ नेपाली किसान मारमा परेका छन् भने अर्कोतर्फ राजस्व असुली नै लक्ष्य अनुसार हुन सकेको छैन ।

    नेपालबाट पनि भारततर्फ लसुन, केराउ, पोस्तादाना, ब्राजिलियन मकै, इलेक्ट्रिक सिगरेट(भेप), इलेक्ट्रिक लाइटर समेत बलिनगर नाकाबाट भारततर्फ तस्करी हुने गरेको समाचार छ ।

    प्रहरी चौकी रामनगरका इन्चार्ज बरिष्ठ सई राजाराम कुर्मी र सशस्त्रको बीओपी बलिनगरका इन्चार्ज इन्स्पेक्टर सन्तोष सापकोटाकै संरक्षणमा बलिनगर नाकाबाट तस्करी हुँदैआएको छ । सामान्यतया नेपाल प्रहरीका चौकी इन्चार्ज ६ महिनामा परिवर्तन हुने गर्दछन् तर बरिष्ठ सई कुर्मी १० महिनासम्म रामनगरमै कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहरा र बरिष्ठ सई डम्बर गिरीले चौकी इन्चार्ज खटाउने चाँजोपाँजो मिलाउने गरेका छन् । सई गिरी र डीएसपी बोहराको सेटिङमा कुर्मी १० महिनासम्म पनि रामनगरमै थमौती हुन सफल भएका छन् ।

    सई गिरीको दरबन्दी अन्यत्रै छ । तर जिल्ला प्रहरी कार्यालयमा उनी थाना चौकीमा खटाउने सूची बनाउने टिमका हर्ताकर्ता हुन् । जागिरमा प्रवेश गरेदेखि नै ट्राफिकमा रमाएका उनी १० बर्षे नीतिले सरुवा भएका थिए । ट्राफिकबाट हटेलगत्तै नवलपरासी जिल्ला प्रहरी कार्यालयका हर्ताकर्ता भएका छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीको ज्वाइ भएकै आधारमा उनी काजमा बसी राज गरिरहेका छन् ।

    सशस्त्र प्रहरी बल बलिनगर बीओपीका इन्स्पेक्टर सन्तोष सापकोटा यसअघि नवलपरासीकै बीओपी गुठी प्रसौनीमा कार्यरत थिए । भन्सारछलीका सामान भित्रने नवलपरासीको मुख्य नाकाकै रुपमा लिइने गुठी प्रसौनीबाट बर्दघाट शिक्षालयमा सरुवा भएका सापकोटा केही महिनामै पुनः नवलपरासीकै बलिनगर बीओपीमा पुगेका छन् । यसअघि गुठी प्रसौनीमा हुँदादेखि नै ब्यापारीहरुसँग चिनजान भएकाले उनी बलिनगरमा सरुवा मिलाएर गएको स्रोत बताउँछ । सापकोटा बलिनगर गएपछि ब्यापारीहरुले त्यही नाका प्रयोग गरी भन्सारछली तस्करीका सामान लाने लैजाने गर्न थालेका छन् ।

    सशस्त्र प्रहरीका महानिरीक्षक अन्तर्गत रहेको उजुरी छानबिनका डीएसपी सुदिप रेग्मीसँग सुसम्बन्ध भएकाले उनकै सिफारिसमा सापकोटा फेरि नवलपरासीकै बलिनगर बीओपीको इन्चार्जमा जान पाएको स्रोत बताउँछ । रेग्मी इन्स्पेक्टर हुँदा नलवपरासीमा २ वटा बीओपीको इन्चार्ज भएका थिए ।

    बलिनगर नाकाबाट हरिदेव पाण्डेले खसीबोका तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् । उनले दैनिक ३ ट्रक खसीबोका नेपालतर्फ ल्याउने गरेका छन् । नेपालबाट लसुन, केराउ, इलेक्ट्रिक लाइटर, भेप, ब्राजिलियन मकै भारत लाने गरेका छन् । पाण्डेको समूहमा पिन्टु कहार पनि छन् ।

    नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेल मुन्नाको संरक्षणमा महेन्द्र ठाकुरले लसुन, केराउ, ब्राजिलियन मकै नेपालबाट भारत लाने गरेका छन् । भारतबाट ठूलो परिमाणमा चिनी भित्र्याउने गरेका छन् । केही दिनअघि भैरहवामा बरामद भएको चिनी उनैको भएको स्रोतले बताएको छ । ठाकुर रामग्राम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पनि हुन् । नेपाली कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष ठाकुरलाई देवेन्द्राज कँडेलको साथ र सहयोग रहँदैआएको छ ।

    ब्यापारी दीपक जोशीले कुखुराका चल्ला भित्र्याउने गरेका छन् भने सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रभुनाथ अहिरका छोराहरुले लसुन, केराउ पोस्तादाना भारत लाने र खसीबोका ल्याउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार