Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरले शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिदका ७ करोड ५० लाख दिने 


    मंगलबार, मंसिर ३० २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।  

    स्पेसिफिकेशन बमोजिम ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरिने अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका अनुसार अब खरिद गरिने मेसिनबाट उच्च गुणस्तीयर र परिस्कृत रिपोर्ट प्राप्त भई सर्वसुलभ सेवा दिन सकिने छ ।

    हस्ताक्षरपछि सम्वोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले संमृद्ध नेपाल खुशी नेपालीको नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन महत्वपूर्ण रहेको भन्दै साझेदारीको हिसावले महानगरपालिकाले गरेको उल्लेख्य काम भएको बताउनुभयो ।  ‘स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भनेका छौँ । तर सरकारी अस्पताल सवल हुन सकेका छैनन्,’ उहाँले भन्नुभयो नीजिले अनुचित ढंगले सेवा दिएको गुनासो जनस्तरबाट आउने गरेको छ । त्यसैले नीतिगत, संरचना, योजान र कार्यक्रममा सुधार गरेर अघि बढ्नुको अर्को विकल्प छैन ।’ 

    उहाँले स्वास्थ्य क्षेत्रमा आउने गरेका विसंगतीका जनगुनासोलाई सुधार गरेर कार्यान्वयन तहमा लैजानका लागि त्यस क्षेत्रको नेतृत्वले सेतुको काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  
     कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिकाले नामका लागि काम होइन कामका लागि काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्ने भए पनि काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । त्रिवि शिक्षण अस्पतालसँगको सहकार्य पनि त्यसै मध्यको एक भएको उहाँले बताउनुभयो । ‘काठमाडौँ महानगरपालिका संघीय राजधानीको पालिका हो । महानगर क्षेत्रभित्र रहेका राष्ट्रियस्तरका सरकारी अस्पताल हाम्रो क्षेत्राधिकार भित्र पर्दैनन्,’ शाक्यले भन्नुभयो, ‘त्यसैले हामीले अरु स्थानीय तहले जस्तै यो हाम्रो क्षेत्राधिकार भित्रको अस्पताल भन्न सक्ने अवस्था छैन । वीर अस्पताल, चिटिङ अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल सबै हाम्रो क्षेत्रभित्र पर्छन्् तर हाम्रो क्षेत्राधिकार भित्र पर्दैनन् ।’

    शाक्यले अहिलेसम्म महानगरपालिकाले मात्रै करीब ३५ हजारको स्वाब संकलन गरेको पनि जानकारी दिनुभयो ।  

     शाक्यले सबै राष्ट्रियस्तरका अस्पताल भएकाले यहाँका वडाध्यक्ष र महानगरपालिकाले हाम्रो अस्पताल भन्न नपाउने अवस्था रहेको पनि स्मरण गराउनुभयो । ‘यी अस्पतालबाट देशभरीका नगरिकले सेवा पाउनुपर्छ र सेवा दिइरहेका पनि छन्,’ शाक्यले भन्नुभयो, ‘यस्ता सबै कुरालाई ध्यानमा राखेर काठमाडौँ महानगरपालिकाले ती अस्पतालको सेवा विस्तारमा सहकार्य गर्दै आएको छ ।’

    कार्यक्रममा शाक्यले महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्री यस अघि पनि वीर अस्पताल, कान्तिवाल अस्पताल  र थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई हस्तान्तरण गरिसकेका जानकारी गराउनुभयो ।

    ‘कोरोनाको परीक्षणका लागि ती अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘सहिद गंगालाल अस्पताल, छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल, कान्तिबाल अस्पतालसँग पनि हामीले सेवा विस्तारका लागि विभिन्न सहकार्य गरेका छौँ । हामीले त्योसँगै जनस्तरबाट सञ्चालन गरिएका अस्पतालसँग पनि हामीले सहकार्य गर्दै आएका छौँ ।’

    उहाँले  काठमाडौंको ‘कोर–सिटी’ मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ अनुदान दिएको र  नयाँ भवन निर्माणका लागि पाँच करोड दिने प्रतिवद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । ‘जनचिकित्सालय, डल्लु सामुदायिक स्वास्थ्य परिषद्सँग पनि सहकार्य गरेर अघि बढेका छौँ,’ उहाँले भन्नुभयो, ‘ काठमाडौँ महानगरपालिकाको २५ औँ स्थापना दिवसको अवसर पारेर अघिल्लो वर्ष काठमाडौँ मानगरपालिकालाई सडक सहयोगापेक्षी मानवमुक्त नगर घोषणा गरेका थियौँ । त्यसमा हामी सफल पनि भएका थियौँ । कोरोना कहरपछि अहिले फेरि त्यहाँ सहयोगापेक्षी देखिन थालेका छन् । हामी उहाँहरुलाई पनि व्यवस्थापन गर्छौ,’ उहाँले भन्नुभयो, ‘नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा हामीले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छौँ ।’ उहाँले तत्काल खरिद प्रक्रिया अघि बढाई काम गर्न पनि आग्रह गर्नुभयो ।  

    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्राडा दिव्यासिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभइ नहुने हतियार भएको भन्दै काठमाडौँ महानगरले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो ।

    कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले आकस्मिक सेवा कक्षको सिटी स्क्यान मेसिन १ वर्ष अघिदेखि कम नलाग्ने गरी बिग्रिएको कारण सेवामा असहजता भैरहेको स्मरण गराउनुभयो । ‘हाल केही समयदेखि अस्पतालमा सेवा लिन आउने नन कोभिड विरामीको संख्यामा समेत कमी भई आन्दामीको श्रोत घट्दै गएकाले आफ्नै स्रोतबाट नयाँ सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा ल्याउन कठिनाई भैरहेको अवस्थामा विरामीलाई छिटोछरितो सेवा प्रवाहका लागि महानगरपालिकाले गरेको सहयोग उल्लेख्य छ’ उहाँले भन्नुभयो, ‘यो खुशीको दिन हो । अझ खरिद प्रक्रिया सम्पन्न गरी जडान गरी सेवा सुरु गरेका दिनको खुशीको प्रतिक्षामा छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार