काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका नेपाल इन्जिनियरीङ कलेजका पूर्व अध्यक्ष लम्बोधर प्रसाद न्यौपानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) विरुद्ध हालेको बन्दीप्रत्यक्षीकरणको रिट अदालतले खारेज गरेको छ ।
सर्वाेच्च अदालतले सोमबार उनको रिट खारेज गरेको हो । आफुलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै न्यौपानेले रिट दायर गरेका थिए । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मलता माथेमाको इजलाशले रिट खारेज गरेको हो । रिट खारेजभएसँगै उनीविरुद्ध ठगी मुद्दा चलाउन प्ररहीलाई बाटो खुलेको छ । न्यौपानेसँगै अनियमिततामा संलग्न तत्कालिन सञ्चालकहरु ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं बिशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लबराज भट्टराई भने फरार छन् ।
कलेजले नै दिएको ठगीको जाहेरीका आधारमा न्यौपाने गत १० मंसिरमा पक्राउ परेका थिए । कलेजको ८ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआईबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानले बाँकी अन्य सञ्चालकले ठगी गरेको कलेजले जनाएको छ । न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए ।
जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि बिना खर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै २० फागुन २०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैया कुनै बिल नै पेश नगरी सञ्चालकहरुलाई दिने निर्णय गरेको थियो । काल्पिनिक शीर्षकमा उनले पटक पटक रम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ । न्यौपानेको नेतृत्वमा कलेज सञ्चालन हुँदा २३ करोड १० लाख रुपैयाँ बेरुजु आएको थियो ।