काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा–१४ को गृहप्रवेश पूजा कार्यक्रममा शनिबार सहभागी हुने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
‘काठमाडौँ महानगरपालिकामा हामी निर्वाचित भएर आइसकेपछि पहिलो बैठकबाटै केन्द्रीय कार्यालय हरिभवन सँगसँगै ३२ वटै वडा कार्यालयलाई व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने, नयाँ निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौँँ,’ शाक्यले भन्नुभयो, ‘त्यहि अभियान अन्तर्गत आज वडा–१४ को गृह प्रवेश पुजा कार्यक्रम भएको छ । हाम्रै कार्यकालमा ३२ वटै वडा कार्यालयका वडा भवन परम्परागत र आधुनिक शैलीलाई संयोजन गरी एकै स्वरुपमा निर्माण गर्ने अभियानलाई पूर्णता दिने गरी अघि बढेका छौँ ।’
प्रमुख शाक्यले यस अघि नै वडा–१८ र ९ को वडा भवन उद्घाटन सम्पन्न गरिसकेको भन्दै १४ लगत्तै वडा–२६ को पनि उद्घाटन गर्ने बताउनुभयो । ‘वडा–१४ को भवन निर्माणको काम करीब सम्पन्न भएको छ । केही समयपछि यहि वडा कार्यालयबाट सेवा प्रवाह गर्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘वडा–२६ पनि उद्घाटनको अन्तिम तयारीमा छौँ ।’ उहाँले काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन बनाउने क्रममा धेरै वडा कार्यालयको पुर्ननिर्माण सम्पन्न गरिसकेको बताउनुभयो । ‘कतिपय ठाउँमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ,’ उहाँले भन्नुभयो, ‘हाम्रै कार्यकालमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने हाम्रो प्रतिवद्धता अनुशासर अहिले काम भैरहेको छ ।
३२ वडामध्ये वडा–८ मा सामान्य विवाद देखिएको छ । ती बाहेक अन्य सबै वडामा विवादरहित ढंगले पुर्ननिर्माण भैरहेको छ ।’ शाक्यले यो अभियानबाट जनप्रतिनिधि मात्रै होइन वडावासी र सेवाग्राही पनि आगामी दिनमा सुविधा सम्पन्न भवनबाट उत्कृष्ट सेवा प्राप्त हुनेमा आशावादी हुँदै खुशी भएको बताउनुभयो । ‘सेवाग्राहीले भवन मात्रै राम्रो होइन त्यहाँ बस्ने कर्मचारी र जनप्रतिनिधिको सेवा पनि उत्कृष्ट होस भन्ने चाहेका छन् । त्यो चाहना पूरा गर्ने गरी हामी लागेका छौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको हरि भवन पुनःनिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण सुरु गर्न सकिएन । तर, अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएका छौँ । यसमा खुशी छु ।’ कार्यक्रममा वडाध्यक्ष सोभा सापकोटाले छिट्टै उद्घाटन गरी नयाँ भवनबाट सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।