काठमाडौं । संसदीय समितिको निर्देशन लत्याउँदै एआइजी बढुवा गरिएका विश्वराज पोखरेललाई आज प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यान्ही चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही अनुसार आईजीपी क्षेत्रीले पोखरेललाई दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् ।
बढुवा समितीले गरेको सिफारिसलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । एआईजीमा बढुवा भएसँगै पोखरेल नेपाल प्रहरीको आगामी आईजीपी बन्ने निश्चित भएको छ ।
हालका आईजीपी क्षेत्री र अन्य तीन एआईजीले २०७९ बैशाख १८ गते अनिवार्य अवकाश पाएपछि पोखरेल नै संगठन प्रमुखका एकल दाबेदार हुनेछन् । प्रहरी नियमावलीमा बहालवाला एआईजीमध्येबाट र एआईजी नभए डीआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
पोखरेल यसअघि आफ्ना ब्याची सिनियर एसएसपीलाई उछिन्दै डीआइजी बढुवा भएका थिए भने अहिले एक दरबन्दी थप गरी एआइजीमा पदोन्नति भएका छन् । राज्यब्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन नै लत्याएर सरकारले उनलाई बढुवा गरेको छ ।