काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा बढुवा भएका छन् । बिहीबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । इन्जीनीयरिङ सेवाका सहसचिव गेलाललाई सरकारले सचिवमा बढुवा गरेपछि भवन विभागको महानिर्देशक पद रिक्त भएको छ । भवन विभागको निमित्त महानिर्देशकमा उपमहानिर्देशक पदम मैनालीले सम्हाल्नेछन् । मैनाली बरिष्ठ उपमहानिर्देशक हुन् ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएका गेलाललाई सचिवमा बढुवा गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा मंसिर १५ गते अवकाश भएपछि इन्जीनीयरिङ सेवाको एक सचिव पदरिक्त भएको थियो ।