काठमाडौं । सर्वाेच्च अदालतले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राख्न आदेश दिएको १० दिनमै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले कानुनी प्रक्रियासमेत मिचेर सोमबार हतारमा फैसला गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिएको थियो, तर त्यसको बेवास्ता गर्दै आरोपित पक्षको मात्र बयान सुनेर फैसला गरिएको छ । यही मुद्दामा उच्च अदालतले बुधबारका लागि पेसी तोकेको थियो, जिल्ला अदालतबाट मिसिल मगाइएको थियो । तर, त्यसको टुंगो नलाग्दै जिल्ला अदालतले कानुनी प्रक्रियासमेत मिचेर फैसला दिएपछि प्रश्न उठेको छ ।
जिल्ला अदालतको फैसलाले कानुनको गम्भीर उल्लंघन गरेको जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका न्यायाधिवक्ता गोकुल निरौलाले बताए । आफूहरूलाई बहस नै गर्न नदिई फैसला गरिएको उनको भनाइ छ ।
पीडित महिलाले मंगलबार प्रधानन्यायाधीशको सचिवालयमा पुगेर फैसलाविरुद्ध गुनासो टिपाएकी छन् । आफूलाई सुरुदेखि नै मुद्दा फिर्ता लिन दबाब आएको र प्रमाण हुँदाहुँदै सफाइको फैसला भएको उनले बताएकी छन् । ‘पीडक पक्षको मात्र बहस गर्न लगाएर किन फैसला भयो ? मलाई त फैसलाको नियतमाथि नै शंका लागेको छ । यसको छानबिन हुनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ । मेरो माग यही हो,’ पीडित महिलाको भनाइ छ ।
जिल्ला अदालतको न्याय सम्पादनप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको छ । प्रक्रिया नै मिचेर फैसला भएको भन्दै महान्यायाधिवक्ता अग्नि खरेललगायत महान्यायाधिवक्ताको कार्यालयका उच्च अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेका छन् । न्यायाधीश कोइरालाले न्याय सम्पादन गर्दा आधारभूत कानुनी प्रक्रियासमेत उल्लंघन गरेको महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ । उच्च अदालतमा पेसीमै रहेको र मिसिल मगाएको अवस्थामा जिल्ला अदालतले हतारहतार फैसला गरेको थियो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।