Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली रसिद प्रयोग गरी नदीजन्य पदार्थको करोडौं कर असुलीः ठेकेदार साहलाई मुख्यमन्त्रीकै संरक्षण


    मंगलबार, मंसिर २३ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • मुख्यमन्त्री लालबाबु राउत र ठेकेदार शेषनाथ साह

    बारा । नक्कली रसिद प्रयोग गरी नदीजन्य पदार्थको कर असुली गर्ने बिनोद निर्माण सेवाका प्रोपराइटर्स शेषनाथ साहलाई कारबाहीबाट बचाउन ठूलो चलखेल सुरु भएको छ । नक्कली रसिद प्रयोग गरी नदीजन्य पदार्थको कर असुली गर्दैआएका साह कलैयामा रातारात अर्बपति बन्न सफल ठेकेदारका रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधिसमेत रहेको खुलेको छ ।

    जितपुर–सिमरा उपमहानगरपालिकाको नक्कली रसिद छापेर नदीजन्य पदार्थको कर असुली गरिरहेको अवस्थामा केही दिनअघि स्थानीयले साहका सहयोगीहरुलाई फेला पारेका थिए । उनीहरुबाट नक्कली रसिद र छापसमेत बरामद गरिएको थियो । सहयोगीहरु पक्राउ परे पनि मूख्य ठेकेदार साहलाई आर्थिक चलखेलकै कारणले अहिलेसम्म पक्राउ नगरिएको चर्चा जिल्लामा चलेको छ । ठेकेदार साहका सहयोगी पक्राउ परे पनि लाई प्रदेश सभा सदस्यदेखि मुख्यमन्त्रीको संरक्षण भएकाले नक्कली रसिद छपाई करोडौं करोड असुली गरेको फेलापरे पनि समात्न गर्न प्रहरी हच्किएको छ । साहलाई पक्राउ नगरिएकोबारेमा बाराका प्रहरी प्रमुख एसपी कृष्ण पँगेनीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

    thekedar.jpg

    नक्कली रसिद छपाइ गरी कर असुली गर्ने जनप्रतिनिधिसमेत रहेका ठेकेदार शेषनाथ साह

    आर्थिक वर्ष २०७७–०७८ का लागि बिनोद निर्माण सेवाका प्रोपाइटर शेषनाथप्रसाद साहले जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रमा पर्ने पसाहा, बालगंगा र दुधौरा खोलाहरुबाट ९३ लाख ५९ घनफिट नदीजन्य पदार्थ उत्खनन् गर्नको लागि १२ करोड ७६ लाखमा ठेक्का सकार गरेका थिए ।

    साहले ठेक्का सकार गरे पनि उपमहानगरपालिकाबाट चलनचल्तीको पूर्जी नै नलिई नक्कली रसिद बनाएर खोलाहरुबाट कर असुल्न शुरु गरेका थिए । कर असुलीका लागि उपमहानगरपालिकाबाट अख्तियारीसहित रसिद लिनुपर्छ । तर उनले उपहानगरपालिकाबाट रसिद नै नलिई आफैं छपाएर नदीजन्य पदार्थबाट कर असुल्दैआएका थिए । नक्कली रसिद प्रयोग गरी कर असुली गर्दैआएका ठेकेदार साहका सहयोगीलाई स्थानीयले नियन्त्रणमा लिएपछि मात्र उनीहरुले यस्तो हर्कत गर्दैआएको खुलेको छ ।

    नक्कली रसिदबाट कर असुल्ने गरेको आरोपमा बारा प्रहरीले ठेकेदार साहका सहयोगी पर्साको वीरगन्ज महानगरपालिका २ का अजयकुमार साहलाई मंसिर १५ गते पक्राउ समेत गरेको थियो ।

    जितपुर–सिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेर ठेकेदार साहले खोलाबाट कर उठाउन लगाएको अनुसन्धानबाट खुले पनि उनलाई बारा प्रहरीले कारबाही नै नगरी संरक्षण गरेको देखिएको छ । ठेकेदार साहले खोलाबाट नदीजन्य पदार्थको कर नक्कली रसिदबाट उठाउनु भन्दा पहिला इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठमार्फत् २० लाख रुपैयाँ समेत प्रहरीलाई नाजराना दिएको कलैयामा चर्चा छ ।

    पहिला दिएको २० र अहिले ८० लाख प्रदेश सभा सदस्य पारस साह मार्फत् प्रहरी, जिल्ला सरकारी वकिललाई खर्च गरेर उनी बच्नेमा आश्वस्त रहेका छन् । ठेकेदार साह कलैया उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष पनि हुन् । उनको २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग पनि पहुँच भएकाले उनी जसरी पनि जोगिने खेलमा छन् । मुख्यमन्त्रीको राजनीतिक संरक्षण प्राप्त भएकाले नक्कली रसिद छापेर कर असुली गर्दा पनि उनलाई प्रहरीले पक्राउ गर्न हच्किएको आशंका स्थानीयले गरेका छन् ।

    रातारात अर्बपति

    २०६३ सालतिर सरकारी कार्यालयहरुमा १ लाखसम्मको कोटेशनमा काम पाउन दिन भरी कार्यालयहरुमा कुर्ने गरेका मझौलिया घर भएका बिनोद निर्माण सेवाका प्रोपराइटर्स शेषनाथ साहले अहिले एक अर्ब भन्दा बढी सम्पत्तिका मालिक बनेका छन् । सामान्य अवस्थाबाट साह बिगत १४ बर्षको अन्तरालमा अकूत सम्पत्तिका मालिक बन्न पुगेका हुन् ।

    साविक जिल्ला विकास समिति मार्फत् नदीजन्य पदार्थको ठेक्का पाएर सम्झौता भन्दा तीन गुणा बढी नदीजन्य पदार्थ बेचेको, नक्कली रुपैयाँको कारोबार गरेको र ठेक्का लिएर गुणस्तरहीन कामहरु गरेर साहले अकूत सम्पत्ति आर्जन समेत गरेका छन् ।

     अहिले नदीजन्य पदार्थको उत्खनन् हुने खोलाहरु पर्ने जितपुर–सिमरा उपमहानगरपालिका, कोल्ही र निजगढ नगरपालिकाबाट नदीजन्य पदार्थको ठेक्का सकार गरेर राजश्व छली गर्ने गरेको अवस्था छ ।

    पाँच बर्ष पहिला पनि साविक जिल्ला बिकासबाट कृषिजन्य पदार्थको ठेक्का सकार गरेर पथलैया राजमार्गमै अबैध असुली गरेको आरोपमा साह पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार