काठमाडौ । नेपाल प्रहरीका एकजना डीएसपीलाई अहिले शक्तिशाली अधिकृत मान्न थालिएको छ । प्रहरी प्रधान कार्यालय चालचलन शाखामा कार्यरत डीएसपी गोविन्द कार्कीले आइजीपी शैलेश थापालाई विवादमा पारेको स्रोत बताउँछ । १ महिना ९ दिन मात्र जागिर अवधि रहेका कार्र्कीले आइजीपी थापालाई विवादमा पार्नेगरी आफ्ना भतिजा इन्स्पेक्टर सुमन कार्कीलाई २०७७ मंसिर १९ गते वीरगञ्ज ट्राफिक कार्यालयको प्रमुखमा काज सरुवा गर्न सफल भएको स्रोत बताउछ ।
आईजीपी थापाको यस कार्यकालमा शक्तिशाली मानिएका डीएसपी कार्कीले आफ्ना भतिजा इन्स्पेक्टर कार्कीको सिङ्गल काज निकालेका छन् । सवारी अनुमतिपत्र (लाइसेन्स्) खोल्न लागेकाले डीएसपी कार्कीले असुलीका लागि भतिजा सुमनलाई वीरगञ्ज ट्राफिकको प्रमुखमा काज गराएका छन् । वीरगञ्ज यातायात कार्यालयमा लाइसेन्स् वितरण प्रकियामा अनियमितता हुने गरेको विषय पटक–पटक समाचार आउने गर्दछ ।
आईजीपी थापालाई आफन्त भन्दै डीएसपी कार्कीले भतिजालाई वीरगञ्ज ट्राफिक सरुवा गरेको एक उदाहरण हो, प्रहरीका ठेक्का पट्टादेखि सरुवामा समेत चलखेलमा उनी लाग्दै आएको आरोप छ । डीएसपी कार्की नेपाल प्रहरीमा लेखापालका रूपमा ६ वर्ष भन्दा बढी समय कार्यरत थिए । लेखापाल हुँदै अकुत आर्जन गरेका कार्की बनेपा ट्राफिकको प्रमुख हुँदा चोरीको गाडीमा सवार भएर विवादमा परेका थिए ।